काठमाडौं । यहि वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा देशभरबाट उम्मेदवारी दिएकामध्ये ३५३ जना निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन आयोगले दिएको जानकारी अनुसार निर्विरोध निर्वाचित हुनेमा नेकपा एमाले अगाडि रहेको छ ।
एमालेका १२३ उम्मेदवार र्निविरोध निर्वाचित भएका छन् । त्यस्तै कांग्रेसको १०१, माओवादी केन्द्रको ५४ र नेकपा एकीकृत समाजवादीको ३४ उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।
यो निर्वाचनमा महिला उम्मेद्वार ३८५ जना मात्र
राजनीतिक दलहरुले स्थानीय तहको प्रमुख पदमा महिला उम्मेदवारीलाई कानूनी औपचारिकता पूरा गर्ने माध्यम मात्र बनाएका छन् । स्थानीय तहको प्रमुख पदहरुमा दलहरुको महिला उम्मेदवारी २०७४ सालको निर्वाचनको तुलनामा निकै कम छ । २०७४ सालको स्थानीय निर्वाचनमा दलहरुले कुल उम्मेदवारीको ६.७ प्रतिशत महिला उम्मेदवार अघि सारे पनि यसपटक त्यो अनुपात घटेर ६.१ प्रतिशतमा सीमित भएको छ ।
अघिल्लो पटक स्थानीय तहको उपप्रमुख/उपाध्यक्ष पदमा ३,३२८ जना महिला उम्मेदवार थिए । जसमध्येमा चुनिने पनि अधिकांश महिला नै भए । उपप्रमुखको रुपमा ५ वर्षे अनुभव पाएकाले यसपटक उनीहरुले प्रमुख पद दावी गर्ने र त्यसै अनुसार महिला उम्मेदवारी बढ्ने अनुमान थियो ।
तर प्रमुख पदमा नै महिलाको उम्मेदवारी घटेको छ । २०७४ मा अध्यक्ष वा प्रमुखमा ४६१ जना महिला उठेकोमा यो पटक ३८५ जना मात्र उठेका छन् । स्थानीय तह निर्वाचन ऐनमा प्रमुख र उपप्रमुख पदमध्ये एउटामा अनिवार्य महिला उम्मेदवारी दिनुपर्ने व्यवस्था छ ।
सत्तारुढ र विपक्षी दलहरुले कुनै न कुनै रुपमा तालमेल वा गठबन्धन गरेकाले एउटा मात्रै पदमा उम्मेदवारी दिए र त्यसक्रममा पुरुषलाई नै अघि सारे । एउटा पदमा उम्मेदवारी दिँदा महिलाको संख्या अनिवार्य नभएकाले मनोनयनमा महिलाहरुको संख्या बढ्न सकेन ।




