काठमाडौं । सरकारले सशस्त्र प्रहरीको महानिरीक्षक (आईजीपी) राजु अर्याललाई बनाउने निर्णय गरेको छ । बालुवाटारमा मन्त्रिपरिषद्को आजको बैठकले एआईजी अर्याललाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको हो ।
गत मंगलबारको मन्त्रिरिषद् बैठकले एआइजीमा बढुवा गरेसँगै उनी सशस्त्र प्रहरीमा आइजिपीका एक्ला दाबेदार भएका थिए। गत चैत ३० गते पुष्पराम केसी आइजिपीमा नियुक्त भएका थिए। तर, तीस वर्षे कार्यकालको अवधिका कारण उनले आइतबारदेखि अनिवार्य अवकाश पाउँदैछन्।
सशस्त्र प्रहरी बलको नियमावलीअनुसार सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकलाई मात्र महानिरीक्षकमा बढुवा गर्न सक्ने प्रावधान छ ।
वि.सं. २०३१ मंसिर २३ गते गोलढुंगा गाविस (हाल काठमाडौंको तार्केश्वर नगरपालिका–५) मा जन्मिएका अर्याल ०५४ चैत १८ गते नेपाल प्रहरीको प्रहरी निरीक्षकका रुपमा सेवा प्रवेश गरेका थिए । पछि उनी सशस्त्र प्रहरी बलमा गएका थिए ।
उनी पीएचडी स्कलर समेत हुन । ग्रामीण विकास, राजनीतिक शास्त्र, समाजशास्त्रमा स्नातकोत्तर तहसम्मको अध्ययन गरेका छन् ।
देश तथा विदेशमा गरी अर्यालले १५ बढी तालिम लिएका छन् । सशस्त्र प्रहरीमा उनी व्यावसायिक प्रहरी अधिकृत मानिन्छन् । यसअघि, उनले संगठनका विभिन्न १० स्थानको कमान्ड तथा जिम्मेवारी वहन गरिसकेका छन् ।अर्याल राम्रो सम्पर्क भएका कमाण्डरको रुपमा चिनिन्छन् ।




