समाचार

ओलीको सरकारको र गतिविधिलाई प्रहार गरेर जाने विषय हुन्छः महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा सरकारको कामको समीक्षा हुने बताएका छन् । बुधबार कुरा गर्दै महामन्त्री शर्माले पार्टीको अब बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सरकारको कामको समीक्षा गर्दै दिशानिर्देश गर्ने बताएका हुन् ।

कार्यसम्पादन समितिको बैठकले सरकारको कामलाई अझ सुधार गर्दै गति बढाउनका लागि निर्देशन दिने बताए ।जनताको जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषयहरुमा सरकारलाई ध्यानाकर्षण गराउने उनले उल्लेख गरे । कोभिड–१९ विरुद्धको खोप अभियानलाई महाअभियानकै रुपमा सञ्चालन गर्नका लागि पनि सरकारलाई घच्घच्याउने उनको भनाई छ ।

त्यस्तै कार्यसम्पादन समितिको बैठकले पार्टीको सबै तहलाई व्यवस्थित बनाउने र पार्टीका विभागहरु बनाउने दिशातर्फ अघि बढ्ने पनि महामन्त्री शर्माले बताए ।

उनले भने– ‘काँग्रेसले निर्वाचनतर्फ जाँदै गर्दाखेरी दुईवटा कुरामा ध्यान दिनुपर्ने विषय छन्, केपी ओलीको ३ वर्षे सरकारको असफलता र त्यो सरकारले गरेका संविधान विपरितका गतिविधिहरु, जनविरोधी गतिविधिलाई प्रहार गरेर जाने विषय त हुन्छ ।

तर हामी उत्तिकै के सजग छौँ भने, हाम्रो पनि सरकारको एक वर्षको परफरमेन्सको बारेमा व्याख्या हुन्छ । हामी आफैं पनि समीक्षा गरेर जान्छौँ ।यसबीचमा जे कमजोरी सरकारको भएका छन्, त्यसलाई कसरी करेक्सन गर्न सकिन्छ, सरकारलाई कार्य सम्पादन समितिले के भन्छ भने सरकारले गति बढाउनुपर्यो भनेर भन्छ ।’

कांग्रेसको यसअघि भर्चुअल रुपमा बसेको केन्द्रीय कार्य समिति बैठकले ३७ सदस्यीय केन्द्रीय कार्य सम्पादन समिति गठन गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *