राजनीति

सानेपा परिसरमा नारा – काङ्ग्रेसभित्र क्रान्ति, दुई तिहाइको महामन्त्री !

काठमाडौं।नेपाली काङ्ग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएसँगै पार्टी कार्यालय सानेपा परिसरमा उपस्थितहरूले ‘काङ्ग्र्रेसभित्र क्रान्ति, दुई तिहाइको महामन्त्री’ भन्दै नारा लगाएका छन् । योसँगै कार्यकर्ताहरूले ‘गगन दाइ हाई–हाई ! विश्वप्रकाश हाई–हाई !’ नारा पनि घन्काएका थिए ।

नवनिर्वाचित महामन्त्री गगन थापाले पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले भन्दा बढी मत प्राप्त गरेका छन् । संस्थापनइतर पक्षबाट उम्मेदवारी दिएका थापाले तीन हजार २३ मत पाए । देउवाले दोस्रो चरणको निर्वाचनमा दुई हजार सात सय ३३ मतमात्र पाएका थिए । देउवाको भन्दा थापाको दुई सय ९० मत बढी छ । अरू ९६ मत आएको भए थापाको दुुई तिहाई मत हुनेथियो ।यसैगरी, महामन्त्रीमा प्रकाशमान सिंह प्यानलबाट उम्मेदवारी दिएका विश्वप्रकाश शर्मा एक हजार नौ सय ८४ मतसहित दोस्रो हुँदै महामन्त्रीमा निर्वाचित भए ।

नेपाली काङ्ग्रेसको राजनीतिको निर्णयक ठाउँमा गगन थापा र विश्वप्रकाश शर्माको ‘जबरजस्त’ उदय भएसँगै राजनीतिमा चासो राख्नेहरू–वृत्तमा खुसीयाली छाएको छ । सामाजिक सञ्जाल ताथ मिडियामा बधाईको ओइरो लाग्न थालेको छ ।

त्यही क्रममा हाल नाइजेरियामा रहेका गैरआवासीय नेपाली सङ्घका पूर्वकोषाध्यक्ष तथा हालका भाषा, साहित्य, संस्कृति तथा सम्पदा प्रवर्धन समिति संयोजक हिक्मत थापाले ‘प्रवासमा पनि खुसीयाली छाएको भन्दै नवनिर्वाचित महामन्त्रीद्वयलाई बधाई दिएका छन् ।

‘काङ्ग्रेसभित्र मात्रै होइन, बाहिर पनि, देशभित्र मात्रै होइन, प्रवासमा पनि,’ भन्ने नारासहित थापाले लेखेका छन्– ‘देशको समृद्ध र लोकतन्त्र सुदृढीकरणको दरिलो विश्वास थपिदियो ।’

यसैगरी, जनता समाजवादी पार्टीका नेता डम्बर खतिवडाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्– नेपाली काङ्ग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्माको विजय र प्राप्त मत–प्रवृत्ति नेपाली राजनीतिका सबै स्थापित मानक, बुझाइ र प्रकल्पनभन्दा बाहिरको नतिजा हो । आशा र उज्यालोको नतिजा हो । समकालीन युवा जनमतको साँचो मनोविज्ञानको प्रतिनिधित्व हो ।

बाम राजनीतिक विश्लेषकसमेत रहेका खतिवडाले गगन र विश्वप्रकाश लाई बधाई दिँदै भनेका छन्– यति खुलेर र खुसीले आजसम्म कमैलाई बधाई भन्न पाइएको थियो । हार्दिक बधाई तथा शुभकामना गगन–विश्वप्रकाश । अब तपाईंहरूको साँचो परीक्षाका दिन सुरुवात भए । देश निरास नहोस् ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *