काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकको विकासका लागि काम गरिरहेको बताएका छन् ।
सिन्धुपाल्चोकको मेलम्चीमा भएको प्राकृतिक विपत्तिमा नेपाली काङ्ग्रेसको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा बस्नेतले प्राकृतिक विपत्तीमा सहयोग गर्ने राजनीतिक दल नेपाली कांग्रेस मात्रै रहेको बताएका हुन् । उनले भने,‘बाढीपहिरोलाई राहत दिने काम कांग्रेसको, भूकम्पपछिको राहत र उद्धारको जिम्मा कांग्रेसको, कोरोनाको उपचारको जिम्मा कांग्रेसको हो । त्यसैअनुसार कांग्रेस र मैले काम गरिरहेको छु ।’

कांग्रेसले गठन गरेको केन्द्रिय बाढी पहिरो विपद व्यवस्थापन समन्वय समिति संयोजक समेत रहेका नेता बस्नेतले कोरोनाका कारण नेपालमै पहिलोपटक निधन भएकी सिन्धुपाल्चोक राम्चेकी महिलाको बालकलाई आफुले पढाउने जिम्मा लिएको समेत स्मरण गराए ।
उनले भने‘नेपालमा पहिलोपटक कोरोनाका कारण राम्चेको महिलाको ९ दिनको छोरा छाडेर वितिन् । त्यसपछि मैले पढाउँछु भनेर घोषणा गरे । तत्काल मैले उनको परिवारलाई फोन गरें । त्यसैबेलामा मैले ५० हजार रुपैया दिने भनेर घोषण गरें । त्यसमा वेलायतबाट हाम्रा दुईजना चेलीले समेत मलाई थप ५० हजार पठाइदिए । मैले त्यो समेत गरेर एकलाख रुपैया दिँए । त्यो बच्चाको उच्चशिक्षा र रोजगारीको जिम्मा समेत मैले र कांग्रेसले लिएको छु ।’

कोरोनाका बेला गरेको सहयोगबारे कम्युनिष्टहरुले सहयोगको स्रोत खोजेको भन्दै उनले त्यसको समेत प्रवाह नगरी सहयोगमा निरन्तर अघि बढिरहेको बताए । उनले भने,‘कोरोना कांग्रेसलाई पनि हुनसक्थ्यो, बाढीपहिरो कांग्रेसलाई पनि हुनसक्थ्यो । तर हामीले काम गरेका हौं ।’
कांग्रेसको खेलकुद विभागका प्रमुख समेत रहेका नेता बस्नेतले कोरोना महामारीका बेला सिन्धुपाल्चोकका सबै स्वास्थ्य चौकीमा स्वास्थ्य सामग्री हस्तान्तरण गरेको बताए ।
उनले भने,‘नेपालको विर अस्पताल र शिक्षण अस्पतालमा स्वास्थ्य सामग्री नहुँदा समेत सिन्धुपाल्चोकका स्वास्थ्यचौकीहरुमा हामीले स्वास्थ्य सामग्री उपलब्ध गराएका थियौं । कोरोनाको दोस्रो भेरियन्ट आउँदा न सभामुखले गरे न यहाँबाट मन्त्री भएकाहरुले गरे । हेलम्बुमा बाढी आउँदा हेलिकप्टरबाट अनुगमन मात्रै गरे । यहाँ आएर मोबाइलले खिचेर भिडियो हाले ।’

अहिले आफ्नै पहलमा चौतारा र बा¥हबिसेमा व्लड वैंक स्थापना गरेको भन्दै उनले भने‘सिन्धुपाल्चोकका जनतालाई कहाँ रगत आवश्यक पर्छ त्यहाँ कांग्रेसको रगत पुग्छ । कम्युनिष्ट पार्टीका साथीहरु तपाईलाई चाहिएको रगत पनि हामी दिन्छौं ।’
कोरोना महामारीका बेलामा अक्सिजन अभाव सिलिण्डर अभाव भएको र त्यस्तो समयमा समेत चीनबाट सिलिण्डर ल्याएर नेपालमै पहिलोपटक सिलिण्डर वितरण गरेको समेत उनले स्मरण गरे ।

नेता बस्नेतले मेलम्चीमा आएको बाढीपहिरो प्रभावितलाई समेत आफुले सहयोग गरेको जानकारी दिए । उनले जनता बचाउन सके राजनीति गर्नसकिने भन्दै आफुले त्यसैअनुसार सहयोग गरेको बताए । कार्यक्रममा प्रदेश सांसद निमा लामा, सिन्धुपाल्चोक जिल्ला क्षेत्र नम्बर एकका क्षेत्रीय सभापती बालकृष्ण बस्नेतलगाएत सहभागी थिए ।




