काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छापा मारेको छ ।
प्रतिष्ठानमा स्वास्थ्य सामग्री खरिद र निर्माण लगायतमा करोडौंको अनियमितता भएको सार्वजनिक भएपछि बिहीबार अख्तियारको केन्द्रीय कार्यालय र इटहरीस्थित क्षेत्रीय कार्यालय समेतबाट खटिएको टोलीले प्रतिष्ठानमा छापा मारेको हो । छापा मार्ने क्रममा कार्यालयका केही कागजात नियन्त्रणमा लिइएको बताइएको छ ।
अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार स्थलगत रुपमा देखिएका सबै विषयवस्तु अनुसन्धान गर्नेछ र मुचुल्का बनाएर प्रमाणको रुपमा ल्याउने र आवश्यक कागजात पनि अनुसन्धानका लागि लिएर आउने बताए । पछिल्लो समय प्रतिष्ठानमा भएका अनियमितताका सन्दर्भमा चिकित्सक र कर्मचारीहरु आन्दोलनरत छन् ।




