काठमाडौं । नेपाली कांग्रेस ललितपुरका सचिव भीमसेन घिमिरेको निधन भएको छ । लामो समयदेखि अस्वस्थ भई पाटन अस्पतालमा उपचाररत घिमिरेको सोमबार बिहान निधन भएको छ ।
४७ वर्षीय घिमिरे ०७४ को स्थानीय निर्वाचनमा कांग्रेसका तर्फबाट ललितपुरको महांकाल गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवारसमेत थिए ।
नेपाल विद्यार्थी संघबाट राजनीतिक जीवन यात्रा प्रारम्भ गरेका घिमिरेले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्दै आएका तिए ।
घिमिरेको निधनबाट पार्टीले एक होनाहार युवा नेतृत्वलाई गुमाएको कांग्रेसले जनाएको छ । कांग्रेसले सोमबार विज्ञप्ति जारी गर्दै घिमिरेको निधनले ललितपुर कांग्रेस संगठनमा अपूरणीय क्षति भएको उल्लेख गरेको छ ।
यसैबीच, नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले घिमिरेको निधनबाट आफू स्तब्ध भएको जनाएका छन् । ‘नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुरका सचिव भीमसेन घिमिरेको असामयिक निधनको खबरले मलाई स्तब्ध र दुःखीत बनाएको छ । स्वर्गीय घिमिरेले पार्टी र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा पु¥याउनु भएको सक्रिय योगदान पार्टीमा सदा स्मरणीय रहनेछ । उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, आत्माको चिर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु,’ कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।




