देश

एक सातादेखि बन्द किराना र खाद्य पसल खुलाइने, निषेधाज्ञा थप लम्ब्याइने

काठमाडौं । एक महिनादेखि जारी निषेधाज्ञाबारे समीक्षा तथा आगामी कदमबारे छलफल गर्न काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक आज दिउँसो बस्दैछ ।

संयुक्त बैठकले उपत्यकामा जारी निषेधाज्ञाबारे पुनर्विचार गर्ने काठमाडौंका सीडीओ कालीप्रसाद पराजुलीले बताएका छन् ।

सरकारले केही प्रावधान खुकुलो बनाएर जारी निषेधाज्ञा एक साता थप गर्ने तयारी गरेकाले आजको बैठकबाट सोही निर्णय आउने निश्चित छ । एक सातादेखि बन्द खाद्य तथा किराना पसलहरुलाई फेरि बिहान केही घन्टा खोल्न दिने तयारी छ ।

यस विषयमा छलफल गर्न अहिले जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठक बसिरहेको बताउँदै पराजुलीले २० गतेपछि निषेधाज्ञा केही खुकुलो बनाइने संकेत गरे। ‘डीसीसीएमसीको प्रस्ताव अनुसार निषेधाज्ञामा केही परिवर्तन गर्न सकिन्छ,’ उनले भने, ‘तत्कालै पूर्ण रुपमा खोल्ने अवस्था भने छैन।’

निषेधाज्ञा थप्दा विकास निर्माण र खाद्यान्नको क्षेत्र खुकुलो बनाउने तयारी भएको हो । यसअघि जेठ १४ गतेदेखि थपिएको निषेधाज्ञा कडा बनाइएको छ । खाद्यान्न पसलसमेत बन्द गरिएको छ । केही दिनयता काठमाडौंसहित सहरी क्षेत्रमा कोरोना संक्रमणको दर घट्दै गएपछि निषेधाज्ञा खुकुलो बनाउन लागिएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *