काठमाडौं । नेपाल पत्रकार महासंघको २०७७ चैत २५ गते हुने निर्वाचनमा नेपाल प्रेस युनियन तथा गठवन्धनका आधिकारिक उम्मेदवारबिरुद्ध केन्द्रीय समितिका विभिन्न पदमा उम्मेदवारी दिएका युनियनका ११ जना कारबाहीमा परेका छन् ।
युनियनका वरिष्ठ उपाध्यक्ष तथा अनुशासन समिति संयोजक दीपक आचार्यले मंगलबार विज्ञप्ति जारी गरी ६ वर्षसम्म साधारण सदस्यताबाट हटाउने निर्णय भएको बताएका छन् ।
युनियनको विधानको धारा २० को (ड) को व्यवस्थाअनुरुप अनुशासन समितिको आकस्मिक बैठकले कम्तीमा ६ वर्षसम्मका लागि साधारण सदस्यता समेतबाट निष्काशन गरिएको उल्लेख छ ।
कारबाही गरिएकामा अवधेश झा, सुवोध गौतम, यमप्रसाद शर्मा (यम विरही), माधव दुलाल, लक्ष्मण कार्की, देवबहादुर कुँवर, रविन थपलिया, भूपेन्द्र आचार्य, बिरेन्द्र केएम, राकेशकुमार मिश्र र नन्द्रबाहादुर ऐरी छन् ।
यसैगरी, सबै तहका उम्मेदवारका प्रस्तावक समर्थक बनेका एवं प्रचारप्रसारमा संलग्न रहेका तथा आधिकारिक उम्मेदवार बिरुद्ध अन्तर्घात हुने गरी प्रचारप्रसारमा संलग्न सदस्यहरुका हकमा आवश्यक छानवीन गरी कार्वाही प्रक्रिया अघि बढाउने निर्णयसमेत गरिएको छ ।




