काठमाडौं । हरेक नयाँ फिल्ममा फरक भूमिका र गेटअपमा देखिन चाहने अभिनेता विपिन कार्कीको नयाँ फिल्म ‘सेल्फी किङ’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ । फिल्ममा उनी टेलिभिजनमा कार्यरत एक प्रसिद्ध हास्यकलाकारको भूमिकामा छन् । उनकै तीन दिनको कथा फिल्ममा उतारिएको छ । फिल्मको प्रचार सामाग्रीमा देखिएको विपिनको भिन्न लुक्सले दर्शकको ध्यान खिचेको छ ।
गएको माघ ५ गते फिल्मको टिमले हाम्रो पात्रो एपसँगको सहकार्यमा ‘हाम्रो सेल्फी किङ कन्टेस्ट’ घोषणा गरेको थियो । ह्यूमर र कमेडी हाउभाउमा खिचिएको सेल्फी हाम्रो कम्युनिटीमार्फत् पोष्ट गरेर प्रतियोगितामा सहभागी हुनसक्ने व्यवस्था गरिएको थियो । गत माघ ५ देखि माघ २० सम्म सञ्चालित प्रतियोगिताको विजेताको घोषणा माघ २१ गते हाम्रो पात्रो मार्फत् गरिएको छ ।
एपको एजमार्फत् लाइभ आएर अभिनेता विपिन कार्की र निर्देशक विशाल सापकोटाले विजेता घोषणा गरेका हुन् । प्रतियोगितामा सहभागीमध्येबाट इटहरीका दिवस पोखरेल विजेता बनेका छन् । उनले कमेडी हाउभाउमा खिचेको सेल्फीले निर्माण पक्षको मन जितेको हो । विजेता दिवसले अनुप बरालको एक्टर्स स्टुडियोमा ३ महिनाको अभिनय तालिमको छात्रवृति पाएका छन् ।
प्रतियोगिताको विजेता भएपछि दिवसले भनेका छन्, ‘मेरो नाम आउँदा निकै खुसी लाग्यो । बाल्यकालदेखि नै अभिनयमा रुचि थियो । अब, अभिनय सिक्ने सपना फिल्मले पूरा गरेको छ ।’ इटहरीमा रहेका दिवस प्रिमियरमा सहभागी हुन् काठमाण्डौ आउँदैछन् । उनीसँगै अन्य १० प्रतियोगीले बुधबार राजधानीमा हुन लागेको फिल्मको प्रिमियरको १० पास जितेका छन् ।
दिनेश राउत र सुवास थापाले फिल्मलाई संयुक्त रुपमा निर्माण गरेका हुन् । विपिनसँगै फिल्ममा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराललगायतका कलाकारको अभिनय रहेको छ । भने, अभिनेत्री केकी अधिकारीले ‘जाली रूमाल’ बोलको गीतमा अभिनय गरेकी छिन् । सुसन प्रजापतिले फिल्म खिचेका हुन् ।




