काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले मेलम्ची खानेपानी परियोजनाको मुहान सुक्ने खतरा देखिएको भन्दै सरकारले ध्यान दिनुपर्ने बताएका छन् ।
अध्यक्ष शेर्पाले मेलम्ची आयोजनाको मुहानको स्रोतको रुपमा रहेको हिमालमा हिँउ पर्न छाडेको भन्दै सरकारले ध्यान दिनुपर्ने बताएका हुन् । उनले जलवायु परिवर्तनको असर हिमालमा हिँउ पर्न कम हुँदै गएको भन्दै भने,‘जलवायु परिवर्तनका कारण हिमालमा हिउँ पर्नै छोडिसक्यो । हिउँ नपरेपछी त्यहाँको सबै ग्यासर सकिने अवस्थामा छ । यसलाई जोगाउनका लागी राजधानीमा राजनीति गर्ने नेताहरुको बेलैमा ध्यान नजाने हो भने काठमाडौंबसीले मेम्चीको पानि खाने सपना अधुरै रहने निश्चित छ ।’
हेलम्बु क्षेत्रको वातावरण जोगाउन काठमाडौं महानगरपालिकाले समेत सहयोग गर्नुपर्ने उनको भनाई छ । हेलम्बु गाउँपालिका मानव निर्मित हिउँ तयार गरेर ग्यासर बचाउने अभियानमा रहेको भन्दै अध्यक्ष शेर्पाले अभियान सफल बनाउन काठमाडौं महानगरले समेत सहयोग गर्नुपर्ने बताए ।
पछिल्ला वर्षहरुमा हेलम्बुमा स्याउ फल्न छाडेको भन्दै उनले जलवायु परिवर्तनको असरले प्रभाव परेको हुनसक्ने बताए । गाउँपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रममा ‘जलवायु न्याय’ नामक अवधारणा नै ल्याएको उनले बताए ।




