धनुषा । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अर्लि इलेक्सन नहुने दाबी गरेका छन् ।
सत्तारुढ दलकै नेताहरुले तोकिएको मितिभन्दा छिटो चुनाव गर्नुपर्ने धारणा राखेका बेला अध्यक्ष प्रचण्डले भने गठबन्धन सरकार संसदको पुरै कार्यकाल रहने बताएका हुन् । जनकपुर विमानस्थलमा उनले भने,‘अर्ली इलेक्सनको हल्ला त्यतिकै चलेको छ, तर हुँदैन, गठनबन्धनकै सरकार पूरा कार्यकाल रहन्छ।’
उनले लामो समयदेखि एमालेले संसद बैठक अवरुद्ध गरेको भन्दै अब अध्यादेशबाट भए पनि महत्वपूर्ण विधेयक अगाडि बढाइने समेत बताए । उनले भने, ‘नागरिकता विधेयकलगायत महत्वपूर्ण विधेयक अध्यादेशबाट नै भए पनि अगाडि बढाउने तयारीमा छौँ ।’
अध्यक्ष प्रचण्डले नागरिकता विधेयक राष्ट्रिय सहमतिका आधारमा पारित गर्न कोशिश गर्ने तर एमाले सहमत नभए अध्यादेश भएपनि जारी गर्ने बताए । ‘नागरिकता विधेयकका लागि हामी राष्ट्रिय सहमतिबाटै जान चाहन्छौँ, राष्ट्रिय सहमति नभए अध्यादेशबाटै भए पनि जान्छौं।’ उनले भने ।




