मुख्य समाचार

भारतीय सेनाध्यक्ष पशुपति र कुमारी मन्दिरको दर्शनमा

काठमाडौं । नेपाल भ्रमणमा आएका भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले बुधबार पशुपतिनाथ र वसन्तपुरस्थित कुमारीको दर्शन गरेका छन् । भारतीय वायु सेनाको विमानमार्फत काठमाडौं आएलगत्तै सोल्टी होटल गएका उनी त्यसपछि काठमाडौंका धार्मिक तीर्थ स्थलहरुको दर्शन र भ्रमणका रहेका छन् ।

नेपाली सेना स्रोतका अनुसार पत्नी विनासहित उनले पहिले वसन्तपुरमा कुमारीको दर्शन गरेका थिए । नेपाली सेना, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरुको कडा सुरक्षा व्यवस्थाका बीच उनी पशुपति मन्दिरको दर्शन गरेका छन् ।

उनको सुरक्षाका लागि सैनिक प्रहरीले अगुवा–पछुवा गाडीको व्यवस्था गरेको छ भने पछाडि नेपाल प्रहरीको एउटा टोली समेत खटिएको छ । नरवणेको नेपाल भ्रमणको मुख्य कार्यक्रम बिहीबार राखिएको छ । शितलनिवासमा उनले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्राप्त गर्नेछन् ।

बिहीबारै समकक्षी प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । शुक्रबार बिहान नरवणे आर्मी स्टाफ कलेज शिवपुरीमा गएर शिक्षार्थीसँग अन्तरक्रिया गर्नेछन् भने त्यसपछि प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेर स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *