काठमाडौँ । देशभरमा आज थप १ सय ५० जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ९९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरका २७ वटा प्रयोगशालामा गरिएको नमूना परीक्षणमा १५० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए ।
प्रवक्ता डा गौतमका अनुसार हाल क्वारेन्टिनमा २१ हजार ७०४ जना रहेका छन् । कोभिड–१९ बाट सङ्क्रमण मुक्त भई गत २४ घण्टामा डिस्चार्ज हुनेको ६०९ छ । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या १२ हजार ४७७ रहेको छ ।
हाल एक जना पनि सङ्क्रमित नभएका जिल्लामा भोजपुर, पाँचथर, धनकुटा, सङ्खुवासभा, रसुवा, मनाङ र मुस्ताङ रहेका छन् । नेपालमा कोरोना सङ्क्रमणबाट हालसम्म ४० जनाको मृत्यु भएको छ ।




