काठमाडौं । संक्रमणकालीन न्याय निरूपणसम्बन्धी (टिआरसी) विधेयकलाई ‘फास्ट ट्रयाक’ बाट पारित गर्ने सत्तापक्षको प्रस्तावमा एमालेले असहमति जनाएको छ ।
सभामुख देवराज घिमिरेको पहलमा आज (शनिबार) भएको शीर्ष नेताहरूको छलफलमा प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले संसदीय समितिमा लैजानु पर्ने बताएका हुन् । सभामुखको कार्यकक्षमा प्रधानमन्त्री प्रचण्डसहित एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल भएको थियो । बैठकपछि पत्रकारसँग कुरा गर्दै एमाले अध्यक्ष ओलीले समितिमा लगेर छलफल गरिनुपर्ने बताएका छन् ।
प्रधानमन्त्री प्रचण्डले ‘फास्ट ट्रयाक’ बाट पारित गर्ने प्रस्तावमा एमालेले नमानेपछि बीचको बाटो खोज्ने प्रयास भइरहेको र यसका लागि विज्ञहरूको पनि सहायता लिइने बताए । एमाले अध्यक्ष ओलीले उक्त विधेयकलाई कुनै न कुनै समितिमा लैजानु पर्ने बताए । ‘टिआरसीका विषयमा पनि छलफल भएको हो । तर फास्ट ट्रयाकमा गर्ने नगर्ने विषयमा छलफल भइरहेको छ । कुनै न कुनैरूपमा उक्त विधेयक समितिमा पठाउनु पर्छ,’ उनले भने । शीर्ष तहमा चैत २८ गते पुनः छलफल हुने भएको छ ।




