काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पुनः सरकारमा सहभागी हुनेबारे छलफल थालेको छ ।
आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकपछि रास्वपाका नेताहरु आन्तरिक छलफलमा जुटेका हुन् ।
आजको बैठकमा रास्वपाका सभापति रवि लामिछाने सहभागी भएका थिए । उनलाई माओवादी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले पुनः सरकारमा आउन आग्रह गरेका थिए ।
उनीहरुले गृहबाहेक अन्य मन्त्रालय लिएर सरकारमा आउन प्रस्ताव गरेपछि लामिछाने पार्टी कार्यालय बसुन्धारामा उपसभापति र महामन्त्रीसहितको छलफलमा जुटेको एक नेताले बताए ।
गृह मन्त्रालय नपाएर असन्तुष्टि जनाउँदै सरकारबाट बाहिरिएको रास्वपाले प्रधानमन्त्री प्रचण्डलाई दिएको विश्वासको मत भने कायम राखेको छ । उसले गृह मन्त्रालय पाए पुनः सरकारमा फर्कनसक्ने सम्भावना रहेको बताउँदै आएको छ ।




