काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले वर्तमान सत्ता गठबन्धनमा खटपट शुरू भइसकेको बताएका छन् । उनले ढिलो चाँडो कांग्रेस नै मुलुकको नेतृत्वमा आउने दावी समेत गरे । सातौं नुवाकोट महोत्सवमा सम्बोधन गर्दै प्रवक्ता महतले निर्वाचनमा कांग्रेसलाई पहिलो दलको रुपमा जनमत प्राप्त भए पनि अनेकन चलखेल गरेर सत्ताबाहिर पुर्याइएको दाबी गरे ।
‘यो निर्वाचनमा कांग्रेसले जनताको साथ पायो, पहिलो दल पनि बन्यो । तर, अनेकन चलखेल गरेर कांग्रेसलाई सत्ताभन्दा बाहिर पुर्याइएको छ,’ उनले भने, ‘तर सत्ता गठबन्धनमा अहिले नै खटपट सुरू भइसकेको छ । छोटो समयमै यस्तो खटपट हुनु राम्रो होइन । यसले मुलुकको विकास र समृद्धिको यात्रालाई अन्योलमा पारेको छ । यो अन्योललाई हामी चाँडै निकास दिने प्रयासमा छौं ।’
उनले शान्ति र संविधानको नेतृत्व कांग्रेसले गरेको स्मरण गर्दै अब विकास र समृद्धिको यात्राको नेतृत्व पनि कांग्रेसबाट मात्रै सम्भव रहेको बताए । ‘हामी ढिलो चाँडो फेरि सत्तामा आउनेछौं, विपक्षमा हुँदा पनि हामी सत्तामा भएको दललाई विकास र जनताको सेवामा केन्द्रित हुन खबरदारी गरिरहनेछौं,’ प्रवक्ता महतले भने ।
उनले नुवाकोटको आर्थिक वृद्धि र विकासको सम्भावनाको चर्चा गरे । ‘हाम्रो जिल्ला रसुवागढी नाकाको नजिक छ । सो नाका जोड्ने सडक निर्माणमात्रै भए पनि हामी व्यापारिक क्षेत्रको रुपमा विकास गर्न सक्छौं,’ उनले भने । सातौं नुवाकोट महोत्सव शुक्रबारबाट सुरु भएको हो । विदुर नगरपालिका–५, पिपलटारमा एक समारोहबीच नेपाली कांग्रेसका नेता तथा संघीय सांसद् अर्जुननरसिंह केसीले महोत्सव उद्घाटन गरेका थिए ।
महोत्सवमा विभिन्न झाँकी, नाच, भजन, भेषभुषा प्रदर्शन गरिएको थियो । मगरको घाटुनाच, किम्ताङको घोडानाच, तामाङको झाँक्रीनाच, नेवारको धिमे बाजा, लाखे नाच, कुमालको भेषभुषा, बाघभैरव समूहको भजन प्रस्तुत गरिएको थियो । महोत्सव आउँदो फागुन १० गतेसम्म चल्ने छ ।




