निर्वाचन-२०७९

इलाम २ः नेम्वाङ, खड्का र पालुङ्वाबीच त्रिकोणात्मक प्रतिस्पर्धा

मङ्गलबारे । नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ इलाम क्षेत्र नं २ बाट आसन्न मङ्सिर ४ मा हुने प्रतिनिधिसभा सदस्यमा निर्वाचनमा प्रतिस्पर्धा गर्दै छन् । उनी पाँचौ पटक आगामी निर्वाचनका लागि प्रतिस्पर्धामा उत्रिएका हुन् ।

नेम्वाङले विसं २०५६ देखि लगातार चुनाव जित्दै आएका गत निर्वाचनमा वाम गठबन्धनको सहयोगमा नेपाली कांग्रेसका उम्मेदवार केशव थापालाई करिब साढे ९ हजार मतान्तरले पराजित गरेका थिए ।

गत स्थानीय तहको निर्वाचनमा इलाम क्षेत्र नं २ मा वडाध्यक्षको मत एमालेकोभन्दा कांग्रेसको बढी देखिन्छ । त्यसमा सरकारमा रहेका गठबन्धन दलको मतसमेत थपिन सक्छ ।

उक्त चुनावमा वडाध्यक्षले पाएको मत ३२ हजार नौ सय ७८ कांग्रेस पक्षको हुँदा एमालेसँग ३२ हजार पाँच सय २७ छ । नेकपा माओवादी केन्द्रको दुई हजार सात सय १७, जसपाको पाँच सय ५४, एकीकृत समाजवादीको दुई सय ७७ र राप्रपाको एक सय ३० मत छ ।

नेम्वाङसँग सत्तारुढ गठबन्धनबाट कांग्रेसका जिल्ला सभापति डम्बरबहादुर खड्का प्रतिस्पर्धी छन् । नेम्वाङको राष्ट्रिय राजनीतिमा आफ्नै पहिचान छ भने खड्का गरिब र विपन्नलाई आर्थिक सहयोग गर्दै आउनुभएको समाजसेवीका रुपमा परिचित छन् । खड्का प्रतिनिधिसभासदस्यको निर्वाचनमा पहिलो पटक चुनाव लड्दै छन् ।

नेपाल विद्यार्थी सङ्घबाट राजनीति यात्रा प्रारम्भ गरेका खड्का नेविसङ्घको केन्द्रीय उपाध्यक्ष, जिल्ला कोषाध्यक्ष हुँदै जिल्ला सभापति बने । यसअघि २०७४ को चुनावमा इलाम क्षेत्र नं २ कै १ बाट प्रदेशसभामा प्रतिस्पर्धी बनेका उनले मुख्य प्रतिस्पर्धीसँग पराजित भएका थिए ।

एमालेका राम रानासँग पराजित खड्काले यसपटक प्रतिनिधिसभामा विजय हासिल गर्ने जिकिर गर्दै आएका छन् । यो क्षेत्रको प्रदेशसभा १ मा नेपाली कांग्रेसबाट र २ मा माओवादी केन्द्रबाट उम्मेदवार उठाइएको छ ।

कानुन व्यवसायी, मन्त्री, सभामुख र संविधानसभा अध्यक्ष भएका उनले गत निर्वाचनमा ३६ हजार पाँच सय १७ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी कांगे्रसका उम्मेदवार केशव थापाले २६ हजार आठ सय ६५ मत प्राप्त गरेका थिए । उनले विद्युत्, सडक, स्वास्थ्य, शिक्षालगायतका कुरा जोडेर नै मत माग्नु परिरहेको छ ।

नेम्वाङको निर्वाचन क्षेत्रमा इलाम नगरपालिकाको १० नम्बर वडाबाहेक देउमाई नगरपालिका, माई नगरपालिकाको वडा नं ६, ७ र ८ सहित चुलाचुली, माङ्सेबुङ र फाकफोथुम गाउँपालिका पर्दछ ।

यसै निर्वाचन क्षेत्रमा राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष खड्गप्रसाद पालुङ्वा (केपी) ले समेत यसै निर्वाचन मनोनयन दर्ता गराएका छन् । सोही निर्वाचन क्षेत्रमा रहेको माङ्सेबुङ गाउँपालिकामा किराँत धर्म गुरुको बसोबास छ ।

इलाम क्षेत्र नं २ मा एक लाख १५ हजार पाँच सय ३५ मतदाता छन् । जसमा ५८ हजार, सात सय ८४ महिला, ५६ हजार पाँच सय ५६ पुरुष र अन्य दुई छन् ।

अबको निर्वाचनमा विकासप्रेमी नेतालाई मत दिने मतदाता टेकराज पौडेल बताउँछन् । पहिलो पटक प्रदेश र प्रतिनिधिसभा सदस्यको लागि निर्वाचनमा मत दिन लागेका उनी जनप्रतिनिधिले जनताको आवाज सुन्न सक्नुपर्ने बताउँछन् ।

निर्वाचन क्षेत्रमा प्रतिनिधिसभातर्फ दुई स्वतन्त्रसहित १४ उम्मेदवार प्रतिस्पर्धी छन् । प्रदेशसभातर्फ क्षेत्र नं २ को (१) मा आठ र इलाम (२) मा १ स्वतन्त्रसहित आठ उम्मेदवार छन् ।

जिल्लाबाट राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाली कांग्रेस बिपी, जसपा एवं स्वतन्त्र उम्मेदवारलेसमेत मनोनयन दर्ता गराएका छन् । एमालेसँग चुनावमा तालमेल गरेको जनता समाजवादी पार्टीका तर्पmबाट समेत इलाममा मनोनयन दर्ता भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *