काठमाडाैँ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले उम्मेदवारी दर्ता गराएपछि स्वत: प्रदेश तथा प्रतिनिधि सभा सदस्यहरूकाे पदावधि सकिने बताएका छन् ।
बिहीबार निर्वाचन आयाेगले आयाेजना गरेकाे पत्रकार सम्मेलनमा पत्रकारहरूसँग सवाल-जवाफ गर्दै उनले यस्ताे बताएका हुन् । ‘उम्मेदवारी दिएपछि निजहरूकाे पदचाहिँ स्वत: सकिएकाे मानिनुपर्छ भन्ने निर्वाचन आयाेगकाे स्पष्ट धारणा छ,’ उनले भनेका छन्, ‘तर, संविधान र कानूनअनुसार निर्वाचित मितिबाट पदावधि प्रारम्भ हुने व्यवस्थालाई टेकेर २१ गते पदावधि समाप्त हुने भनि लिखितरूपमा हामीले गरेको सिफारिसलाई सरकारले स्वीकार गरेको ठानेका छाैँ ।’
यस्तै उनले दशैंलगत्तै उम्मेदवार दर्ताकाे कार्यक्रम अघि बढाउनेगरी आयाेगले तयारी गर्ने बताएका छन् । उनले भनेका छन्, ‘निर्वाचन आयाेगले दशैंलगत्तै उम्मेदवारी प्रक्रिया अघि बढाउनुपर्ने हाे कि भन्ने भएकाे छ । यद्यपि यसकाे मिति पछि नै घाेषणा हुन्छ । तर, पनि सम्भावनाचाहिँ त्यस्ताे छ ।’




