धनगढी। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले चुनाव अघि माओवादी लगायत कुनै पनि पार्टीसंग पार्टी एकता नहुने बताएका छन् ।
धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले भने , माओवादीसँग एकता हुन थाल्यो भनेर कसैले ‘हटवीट’ बढाउन जरुरी छैन हामी चुनावअघि कसैसित पनि एकता गर्देनौ, चुनावपछि छलफल गरौला ।
यो गठवन्धन कहिलेसम्म रहन्छ भन्ने पत्रकारको प्रश्नमा उहाँले गठवन्धन कहिलेसम्म रहन्छ भन्ने जोतिषीलाई थाहा होला तर यो संसद रहदासम्म गठवन्धन रहन्छौ । उनले चुनावीमा पनि एक्लै जित्ने ठाउँमा एक्लै लड्ने नजित्ने ठाउँमा सम्मानजनकढंगले तालमेल गर्ने पनि बताए ।
अध्यक्ष नेपालले आफ्नै बलमा जित्ने गरेर एकीकृत समाजवादी पार्टी देशभरका ७५३ वटै पालिका र पालिकाका वडामा संगठन निर्माण भइरहेको पनि उल्लेख गरे । सहकार्यका नाममा हामी अरुको आशा गरेर बस्दैनौ उनले भने । नीति, कार्यक्रम, विगत र व्यवहारका आधारमा चुनाव जित्ने भएकोले ती कुरा आफूहरुसँग भएको पनि दावी गरे ।
प्रदेश खारेज गर्नुपर्ने माग उठेको छ नि भन्ने अर्को प्रश्नमा अध्यक्ष नेपालले त्यो माग कतै उठेको छैन, जनतालाई खुसी बनाउने खालका काम गर्दे जानुपर्छ भने । उनले नेपाल श्रीलंका जस्तो नहुने बताउदै रुस‐युक्रेन युद्धका कारण विश्वभर नै आर्थिक अवस्था कमजोर भएको बताए ।




