ताजा समाचार

जनार्दन शर्माले राजीनामा दिएर उच्च नैतिकता देखाउनु भएको छ : प्रचण्ड

काठमाडौँ । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएर उच्च नैतिकता र त्याग प्रदर्शन गरेको बताएका छन् । बिहीबार केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले शर्माले आफूले केही नगरेको बताएको र त्यसबाट सकारात्मक सन्देश गएको बताएका हुन् ।

राजीनामा नदिएको भए यसै विषयलाई उचाल्दै गठबन्धनलाई नै अप्ठ्यारोमा पार्ने षड्यन्त्र भएको पनि प्रचण्डले बताए । उनले भने, ‘राजीनामा नगरेको भए त्यै विषयलाई भ्रमित पार्दै र उचाल्दै राजनीति अप्ठ्यारोमा पार्ने र गठबन्धन अप्ठ्यारोमा पार्ने ठूलो डिजाइन भयो । त्यो डिजाइनलाई त्यागद्वारा जवाफ दिइएको छ । यसबारे कार्यकर्ता र जनतालाई भन्नुपर्छ ।’

यसै विषयलाई लिएर माओवादीलाई अपमानित गर्न खोजिने भन्दै उनले जनतालाई यथार्थ जानकारी गराउनुपर्ने बताए । उनले अगाडि भने, ‘छानबिनका लागि तयार छु भन्ने घोषणा गर्नुभएको छ । एउटा राजनीतिक कल्चर विकास गर्ने प्रक्रियाको कडी हो । यसलाई माओवादीलाई अपमानित गर्न प्रयोग गर्छन् तर यसलाई नयाँ तरिकाबाट जान जरुरी छ ।’

असार १९ गते सुरु भएको केन्द्रीय कमिटी बैठक दुई दिन स्थगित भएर बिहीबार बसेको हो । माओवादीमा एक वरिष्ठसहित ६ उपाध्यक्ष, एक महासचिव, २ उपमहासचिव, ३ सचिव र १ कोषाध्यक्षसहितका पदाधिकारी चयन बाँकी रहेको छ । बिहीबारको बैठकमा पदाधिकारीसहित स्थायी कमिटी र पोलिटब्युरोको टुंगो लगाउने बताइएको छ ।

सदन, सडक र जनस्तरबाट चर्को दबाब परेपछि अर्थमन्त्री जनार्दन शर्मा राजीनामा दिन बाध्य भएका हुन् । बजेट ल्याउँदा करको दर हेरफेरमा अनधिकृत व्यक्तिलाई समावेश गरेपछि मन्त्री शर्माको चर्को विरोध भएको थियो । सत्तापक्ष र प्रतिपक्षबीच संसदीय छानबिन विशेष समिति गठन गर्ने सहमति भएपछि सुरु भएको संसद्मा बुधबार शर्माले राजीनामा घोषणा गरेका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *