काठमाडौं । नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी असोजमा महाधिवेशन गर्ने भएको छ । असोज १ देखि पार्टीको नवौँ महाधिवेशन गर्ने सो पार्टीको उदयपुरमा सम्पन्न केन्द्रीय समिति बैठकले निर्णय गरेको हो ।
पार्टीका केन्द्रीय सदस्य ओम पुनका अनुसार असोज १ मा महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न तयारी थाल्ने निर्णय समेत भएको छ ।
नेता धर्मेन्द्र बाँस्कोटा, हेमन्त प्रकाश ओलीलगायतले पार्टी विभाजन गरेर नेकपा (बहुमत) बनाएपछि विप्लवको नेतृत्वमा उदयपुरमा केन्द्रीय समिति बैठक बसेको हो ।
जेठ १२ देखि १७ गतेसम्म चलेको बैठकमा महासचिव विप्लवले राजनीतिक प्रतिवेदन पेश गरेका थिए । यस्तै बैठकमा पार्टीको आगामी रणनीतिका विषयमा पनि गम्भीर छलफल भएको बताइएको छ ।




