काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडलले पदकै लागि बादलहरू एमालेमा गएको आरोप लगाएका छन् । नेकपा माओवादी केन्द्र जैमिनी नगरपालिका बागलुङले आयोजना गरेको राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रममा पौडेलले बादल र टोपबहादुरले पार्टीलाई धोका दिएर पदकै लागि एमालेमा गएको आरोप लगाएका हुन्।
‘बादल, टोपबहादुरलाई पार्टीले सरकारमा पठाएको थियो । पार्टीलाई धोका दिइ पदकै लागि एमालेमा जानुभयो, अहिले माओवादीलाई सरापदै हुनुहुन्छ,’ मन्त्री पौडेलले भने ।
आगामी स्थानीय तहको चुनावमा गठबन्धनका प्रयास भइरहेको बताउँदै पहिले आफू मजबुद हुनपर्नेमा उनले जोड दिएका छन् । ‘आफ्नो उम्मेदवार तयार गरी अघि बढ्ने कुरा पहिलो हो । आफ्नो पार्टी मजबुद भएपछि अन्य दल गठबन्धन गर्न आउँछन्,’ मन्त्री पौडेलले भने ।
देशको परिर्वतनका लागि माओवादीले दुःख, कष्ट र त्याग गरेको बताउँदै देशमा प्राप्त उपलब्धीलाई संस्थागत गर्न गठबन्धन आवश्यक रहेको उनले बताएका छन् ।




