काठमाडौं ।नेपाली कांग्रेसको चौधौं महाधिवेशनबाट गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्री बन्ने पक्का भएको छ।जारी मतगणनामा गगन ६५ प्रतिशत मत ल्याएर अग्रस्थानमा छन् भने विश्वप्रकाशले ४१ प्रतिशत मत पाएका छन्।
३९९० मत गन्दा गगन २५८१ मत ल्याएका छन् भने विश्वप्रकाशले १६४६ मत पाएका छन्।तेस्रो स्थानमा रहेका प्रकाशशरण महतभन्दा विश्वप्रकाशले ३१९ मत बढी ल्याएका छन्।
१३२७ मत पाएका महतले अब विश्वप्रकाशलाई उछिन्न कठिन देखिएको छ।चौथो स्थानमा रहेका प्रदीप पौडेले ११८८, मीनेन्द्र रिजालले ६८७ र राजाराम कार्कीले ८८ मत ल्याएका छन्।
कांग्रेस विधानमा महाधिवेशनबाट दुई जना महामन्त्री निर्वाचित हुने व्यवस्था छ। महामन्त्रीमा ६ जनाबीच प्रतिस्पर्धा छ।
सभापति शेरबहादुर देउवा समूहबाट डा. प्रकाश शरण महत र प्रदीप पौडेल छन् भने डा. शेखर कोइराला समूहबाट गगन थापा र मिनेन्द्र रिजाल मैदानमा छन्।
यस्तै प्रकाशमान सिंह समूहबाट विश्वप्रकाश शर्मा र विमलेन्द्र निधि समूहबाट डा. राजाराम कार्की महामन्त्रीको उम्मेदवार छन्।
यसअघि सभापति र उपसभापतिको मतगणना सकिएको छ। सभापतिमा शेरबहादुर देउवा र उपसभापतिमा पूर्णबहादुर खड्का तथा धनराज गुरुङ निर्वाचित भएका छन्।




