ताजा समाचार

खुलामञ्च खुला गर्न बिहानै चल्यो महानगरको डोजर

काठमाडौं । लामो समयदेखि विभिन्न संरचना र ढुंगामाटो थुपारिएको खुलामञ्च अब खुला गरिने भएको छ । काठमाडौं महानगरपालिकाले खुलामञ्चलाई खुला गर्ने अभियान थालेको हो।

दरबार हाइस्कुलको निर्माण सम्पन्न भएको र वीर अस्पतालको समेत पुनर्निर्माण अन्तिम चरणमा पुगेपछि ती संरचना पुनर्निर्माणका लागि थुपारेका निर्माण सामग्री र संरचना हटाई खुला गर्ने पहल सुरु गरेको हो।

‘राष्ट्रिय महत्वको संरचना दरबार हाइस्कुल र वीर अस्पतालको पुर्ननिर्माणको क्रममा त्यहाँ प्रयोग हुने निर्माण सामग्रीहरु र त्यहाँ काम गर्ने केही कामदारलाई राख्नका लागि उहाँहरुको आग्रहमै हामीले त्यहाँ सहमति दिएका थियौँ,’ काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले भने, ‘वीर अस्पताल र दरबार हाईस्कुलको पुर्ननिर्माण सम्पन्न चरणमा पुगेपछि हामीले आजबाट उहाँहरुलाई पनि जानकारी दिएर खुलामञ्चलाई खुला गर्ने अभियान थालेका हौँ। ’ उनले विस्तारै बसपार्क पनि खुला गर्ने जानकारी दिए।

ऐतिहासिक खुलामञ्च खाली नभएपछि राजनीतिक दलहरुले बीच सडकमै आमसभा गर्दै आएका छन् । देशको राजधानी जस्तो ठाउँमा एउटा विरोध प्रदर्शन गर्ने सार्वजनिक स्थलसमेत नभएपछि जनताले आक्रोश जनाउँदै आएका थिए । यो त्यही खुलामञ्च हो, जहाँ ००७, ०४६, ०६२–६३ को परिवर्तनपछि ठूल्ठूला आमसभा भएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *