काठमाडौं।आईएसआईएसका दुईजना आतंककारी नेपाल हुँदै भारत छिरेको दावी एक भारतीय सरकारी सञ्चार माध्यमले गरेको छ । भारतीय प्रहरीको हवाला दिँदै प्रेस ट्रष्ट अफ इण्डिया (पिटिआई) ले सो दावी गरेको हो । सो संस्था भारतको आधिकारिक सञ्चार संस्था हो ।
समाचार प्रदायक सो संस्थाले समाचार प्रेषित गरेपछि दर्जनौं सञ्चार माध्यमहरुले सो समाचार दिएका छन् । नेपाल भारत सीमामा पर्ने महाराजगञ्ज,कुसीनगर र सिद्धार्थनगर क्षेत्रबाट ती आतंककारी भारत घुसेको पिटिआईले दावी गरेको हो । पिटिआईले एक प्रहरी अधिकारीलाई उदृत गर्दै दुई आतंककारीको नाम पनि खुलाएको छ । उनीहरुको नाम अब्दुल समाद र इलियास भएको दावी प्रहरीको छ । उनीहरुको फोटो पनि प्राप्त भएको दावी गरिएको छ । तर, ती आतंककारी नेपालबाटै भारत घुसेका हुन् भन्ने कुनै प्रमाणित आधार भने समाचारमा खुलाइएको छैन ।
भारतले नेपालबाट आतंककारी घुसेको आरोप बेलाबेलामा लगाउने गरेको छ तर कहिले पनि त्यसरी आतंककारी घुसेको पत्यारिलो आधार दिने गरेको छैन । आईएसआईएसलाई अहिले विश्वको सबैभन्दा ठूलो आतंकवादी संगठन हो । यो संगठनले इराक, सिरिया लगायतका देशहरुमा लडाईं गरिरहेको छ । यो संगठनका प्रमुख बग्दादी केही दिन पहिले मारिएका थिए । जवाफमा आईएसले सिरियामा १४ जना ईशाई धर्मावलम्बीको हत्या गरेको थियो ।




