मुख्य समाचार

समाचार संग्रह : संकल्प खबर विशेष मुख्य १० समाचार

असोज २१ गते आइतबार संकल्प खबरले दिनभरि देशभरमा भएका १० मुख्य समाचार तयार पारेको छ । दिनभरी घटेका घटनालाई एक साथ हेर्न मिल्नेगरी संकल्प विशेष १० समाचारमा मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो । आइतबार तयार पारिएको मुख्य १० समाचारमा इलेक्ट्रिक चुरोट ‘भेप’ ः भेप प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेश देखी हमास–इजरायल घटना ः संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको बैठक आह्वान सम्मका समाचारलाई समेटिएको छ ।

हेर्नुहोस आजका मुख्य १० समाचार

इलेक्ट्रिक चुरोट ‘भेप’ : भेप प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा

काठमाडौं । सीआईबीले इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी गरेको घटनाको अनुसन्धान प्रतिवेदन बुझाएको छ । सीआईबी प्रहरीले आइतबार सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ । सीआईबीले पूर्व सभामुख कृष्णबहादुर महराका छोरा राहुल महरासहित ४ जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दायर गर्न सरकारी वकिललाई राय दिएको छ ।

सीआईबीले राहुल महरा, लोकेन्द्रकुमार पौडेल र तिब्बत मूलका बेल्जियन नागरिक दावा छिरिङ सहित चार जनालाई प्रतिवादी कायम गर्न राय दिएको छ । भेप प्रकरणमा प्रतिवादी कायम गर्न सिफारिस गरिएका एक जना फरार छन् । चिनियाँ सुन तस्कर दाओजिन वाङसहित ६ जनालाई पछि खुलेको अवस्थामा प्रतिवादी बनाउन प्रहरीले राय दिएको छ । प्रहरीले ८ करोड ५७ लाख बिगो कायम गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

राष्ट्रपतिको उपचार खर्च दिने सरकारको निर्णय विरुद्ध सर्वोच्चको कारण देखाउ आदेश

राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य उपचारका क्रममा भारतमा भएको खर्चवापत सरकारले गरेको ५५ लाख रुपैयाँ दिने निर्णय विरुद्ध सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । अदालतले आइतबार सरकारको निर्णयकोमाथि कारण देखाउ आदेश जारी गरेको हो । सरकारको सो निर्णय बदर गर्न माग गर्दै अधिवक्ता विष्णुकुमार गिरीले सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए । राष्ट्रपति रामचन्द्र पौडेल, राष्ट्रपतिको कार्यालय शितलनिवास, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय लगायतलाई विपक्षी बनाई रिट दायर भएको थियो ।

इजरायलमा आपतमा परेका नेपालीहरूको उद्धार गर्न सरकारलाई देउवाको आग्रह

पूर्वप्रधानमन्त्री एवम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले इजरायलमा विभिन्न कारणले बसोबास गर्दै आएका नेपालीहरूको एकिन तथ्याङ्क पत्ता लगाई उनीहरूको जीवन रक्षा र उनीहरूलाई तत्काल सुरक्षित स्थानमा पु¥याउनका साथै आवश्यक उद्धार गर्ने र यथासम्भव स्वदेश फर्काउनका सरकारलाई आग्रह गरेका छन् ।

सभापति देउवाले आइतबार एक विज्ञप्ती जारी गर्दै यस्तो बताएका हुन् । नेपाल सरकारले अविलम्व कुटनीतिक पहल गर्न नेपाली कांग्रेसले जोडदार माग गरेको छ । मित्रराष्ट्र इजरायलका विभिन्न स्थानहरूमा भएको आक्रमणमा परी करीब एक दर्जन घाइते र आक्रमणकारीबाट केही नेपालीलाई कब्जामा लिइएको घटनाप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ । नेपाली कांग्रेस यस घटनाको भत्र्सना गर्दै गहिरो चिन्ता प्रकट गर्दछ, जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

त्यसैगरी इजरायलमा कार्यरत नेपालीहरूलाई स्वदेश फर्कने वातावरण निर्माण गरिदिन मित्रराष्ट्रहरू, अन्तर्राष्ट्रिय मानव अधिकारवादी संघ संस्था, आप्रवास सम्बन्धी संगठन (आइओएम) अन्तर्राष्ट्रिय रेडक्रस समिति लगायत सम्वद्ध सबै अन्तर्राष्ट्रिय समुदायहरूसँग नेपाली कांग्रेसले आग्रह गरेको छ । । साथै अप्ठ्यारोमा परेका नेपालीहरूले आवश्यक सहयोगका लागि इजरायल स्थित नेपाली दूतावास एवं नेपाली जनसम्पर्क समितिमा सम्पर्क गर्न समेत सभापति देउवाले आह्वान गरेका छन् ।

इजराइलमा रहेका नेपालीको अवस्थाबारे संसदलाई जानकारी

परराष्ट्रमन्त्री एनपी साउदले इजराइलमा रहेका नेपालीको अवस्थाबारे संसद्लाई जानकारी गराएका छन् ।नेपाली समयअनुसार शनिबार बिहान ६ः३० बजेबाट प्यालेस्टाइनी लडाकु समूह हमासले इजराइलको दक्षिण क्षेत्रमा आक्रमण गरेको थियो । उक्त आक्रमणमा परेका नेपालीको अवस्था र नेपालले गरिरहेको पहलका बारेमा परराष्ट्रमन्त्री साउदले प्रतिनिधिसभालाई जानकारी गराएका हुन् ।

‘नेपाली राजदूतावास, इजराइल सरकारको स्रोत एवम् अन्तर्राष्ट्रिय समाचार माध्यामबाटप्राप्त जानकारीअनुसार शनिबार बिहान प्यालेस्टाइनको हमास समूहबाट आक्रमण भएको र हालसम्म यो आक्रमणबाट सयौँको सङ्ख्यामा मृत्यु र घाइते भएका तथा केही मानिसलाई हमास समूहले अपहरण र बन्धक बनाएको बुझिन आएको छ’, परराष्ट्रमन्त्री साउदले भने।

उनका अनुसार इजराइलको दक्षिणी क्षेत्रमा १७ जना नेपाली रहेकोमा दुई जना सकुल रहेको तथा तीन जना घाइतेको उपचार स्थानीय अस्पतालमा भइरहेको छ । बाँकी १२ जनामध्ये केही सम्पर्कमा नरहेको र केही हताहत भएको हुनसक्ने हुँदा स्थिति यकिन गर्न सम्पूर्ण संयन्त्र परिचालन गरिएको उनको भनाइ छ । इजराइलमा हाल करिब चार हजार पाँच सय नेपाली ‘केयर गिभर’को रुपमा कार्यरत छन् । त्यस्तै, दुई सय ६५ जना नेपाली विद्यार्थी अध्ययन गरिरहेका छन् ।

सुदूरपश्चिम विश्वविद्यालयबाट गएका ४९ जना विद्यार्थीमध्ये १७ जना दक्षिणी इजराइलमा अध्ययन गरिरहेका थिए । तिनै १७ जनामध्ये दुई जना सकुशल, तीन जना घाइते भएर उपचाररत र बाँकी १२ जनाको अवस्था अज्ञात रहेको मन्त्री साउदले जानकारी दिए।

इजराइलमा भएको यस घटनालाई नेपाल सरकारले गम्भीरताका साथ लिएको पनि उनले संसद्मा बताए। आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठक बोलाएर परराष्ट्रमन्त्रीको संयोजकत्वमा सबै सरोकारवाला निकाय रहनेगरी समन्वय समिति गठन गरेका छन् । उक्त समितिले घटनाको वस्तुस्थिति बुझ्ने र घटनाको समग्र मूल्यांकन गरेर इजराइलमा रहेका नेपालीहरुको अवस्था पहिचान गर्ने र उद्धार गर्नुपर्ने अवस्थाका लागि समेत कार्यादेश पाएको पनि मन्त्री साउदले बताए ।

बीआरआई कार्यान्वयन गर्न सरकारले छिट्टै योजना बनाउँछ ः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बीआरआईमार्फत नेपालमा उल्लेख्य लगानी भित्र्याउन नसकिएको बताएका छन् ।उनले नेपालको विकासको लागि महत्त्वपूर्ण स्रोतको रुपमा रोड एण्ड बेल्ट इनीसीयटीभ (बीआरआई) रहने भन्दै यसको कार्यान्वयनको लागि सरकारले छिट्टै योजना बनाउने प्रतिबद्धता जनाए । आइतबार ‘बीआरआईको एक दशक ः व्यापार, लगानी र सम्पर्क सञ्जाल’ विषयक कार्यक्रममा प्रधानमन्त्री दाहालले नेपालमा बीआरआई परियोजनाअन्तर्गतका योजनाको कार्यान्वयन गराउन सरकार प्रतिबद्ध रहेको उल्लेख गरे ।

प्रधानमन्त्री प्रचण्डले नेपालको पूर्वाधार विकासका लागि ठूलो आर्थिक लगानीको आवश्यकता रहेको उल्लेख गर्दै नपालको लागि बीआरआई नै विकासको स्रोत बन्न सक्ने भन्दै बीआरआई कार्यान्वयनको लागि योजना बनाएर लाग्ने धारणा राखे । ‘हामीलाई पूर्वाधार विकासमा ठूलो लगानीको खाँचो छ । परम्परागत स्रोतबाट प्राप्त हुने विकास सहायताबाट मात्रै हाम्रो आवश्यकता पूरा हुनसक्ने परिस्थिति छैन । विकास निर्माणलाई तीव्र बनाउन थप बाह्य पुँजीको खाँचो छ । बीआरआई नेपालका लागि त्यस्तो महत्त्वपूर्ण स्रोत हुन सक्छ,’कार्यक्रममा प्रधानमन्त्रीले भने ।

एमाले उपत्यका विशेष कमिटीको अध्यक्षमा पराजुली सर्वसम्मत

नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटीको प्रथम अधिवेशनबाट अध्यक्षमा प्रेम पराजुलीसहित सबै पदाधिकारी सर्वसम्मत चयन भएका छन् । निर्वाचन समितिका संयोजक घनेन्द्र बस्नेतले अध्यक्षसहितका पदाधिकारी सर्वसम्मत निर्वाचित भएको जानकारी दिए । उनका अनुसार उपाध्यक्षमा विदुर कार्की, सचिवमा मिलन धरेल तथा उपसचिवमा जितेन्द्र श्रेष्ठ र उर्मिला विश्वकर्मा सर्वसम्मत भएका हुन् ।

पराजुली यसअघि पनि अध्यक्ष थिए । अधिवेशनमा अध्यक्ष पदमा चन्द्र रिजालको उम्मेदवारी परे पनि उनले फिर्ता लिएसँगै सर्वसम्मत नेतृत्व चयन भएको हो । अधिवेशनले पदाधिकारीसहित ७५ सदस्यीय नयाँ कमिटी निर्वाचित गर्नेछ ।

इजरायलमा बेपत्ता एक जना सम्पर्कमा, दाङका प्रविणको अस्पतालमा उपचार हुदै

हमास समुहको इजरायलमा आक्रमणपछि सम्पर्कविहीन बनेका १२ नेपालीमध्ये दाङको दंगीशरण गाउँपालिका–३ का २३ वर्षीय प्रविण डाँगी सम्पर्कमा आएका छन् । उनी सोरोका मेडिकल सेन्टरमा उपचार गराइरहेको अवस्थामा भेटिएको गैरआवासीय नेपाली संघ (एनआरएनए) इजरायलले जानकारी दिएको छ ।

यसैबीच प्रविणले दाङस्थित आफ्नो परिवारमा समेत सम्पर्क गरेका छन् । अस्पतालकी नर्सको मोबाइलबाट घरमा सम्पर्क गरेको परिवारले बताएको छ । प्रविणको खुट्टामा गोली लागेको र उनको अप्रेशनको तयारी भएको समेत उनले परिवारलाई जानकारी दिएका छन् । अन्य ११ जनाको अवस्थाको बारेमा भने अझै स्पष्ट भएको छैन । परराष्ट्रमन्त्री एनपी साउदका अनुसार इजरायलमा हाल ४५०० नेपाली केयरगिभरका रूपमा कार्यरत छन् भने इजरायल सरकारको ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत २६५ नेपाली विद्यार्थी अध्ययनरत छन् ।

अध्ययनका निम्ति गएका मध्ये नेपालको कृषि विश्वविद्यालयबाट ११९, त्रिभुवन विश्वविद्यालयबाट ९७ र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना छन् । सुदुरपश्चिम विश्वविद्यालयबाट गएका ४९ मध्ये १७ नेपाली दक्षिण इजरायलको किवुज अलुमिम भन्ने स्थानमा अध्ययनरत थिए । किवुज अलुमिम स्थानमा अध्ययनरत १७ नेपालीमध्ये दुईजना सकुशल रहेका, स्थानीय अस्पतालमा तीन घाइतेको उपचार भइरहेको छ ।

झलनाथ खनाल स्वास्थ्य प्रतिष्ठानमा करिब १८ करोड भ्रष्टाचार, पूर्वमन्त्री र पूर्वमेयरविरुद्ध मुद्दा दायर

एकीकृत समाजवादीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको नाममा खोलिएको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा करिब १८ करोड रुपैयाँ भ्रष्टाचार भएको खुलेको छ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेशका पूर्वमन्त्री विजयकुमार, लालबन्दी नगरपालिकाका पूर्वमेयर मानबहादुर खड्कासहित सातजनाविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।

तत्कालीन मन्त्री विजयकुमार र मेयर मानबहादुर खड्काले आफूलाई नभएको अधिकार समेत प्रयोग गरी प्रचलित कानूनविपरीत लागत साझेदारी शून्य रहेको झलनाथ खनाल स्वास्थ विज्ञान प्रतिष्ठान नेपाल नामको गैरसरकारी संस्थालाई सरकारी रकम उपलब्ध गराई सोही संस्थाबाटै कार्यक्रम कार्यान्वयन र खर्चको लेखांकन गर्ने गरी उक्त गैरसरकारी संस्थाका अध्यक्ष रेवतीप्रसाद पन्तसँग त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर गरेको र सोही समझदारी(पत्रका आधारमा प्रदेश सरकार, आर्थिक मामिला तथा योजना मन्त्रालयबाट लालबन्दी नगरपालिकालाई र सो नगरपालिकाबाट उक्त गैरसरकारी संस्थालाई बदनियतपूर्वक सरकारी रकम १७ करोड ९८ लाख ३३ हजार निकासा गरी हिनामिना गरेको अख्तियारको ठहर छ ।

‘प्रसाद २’ को विवादमा ओएसआर डिजिटलका सञ्चालक अग्रवाल पक्राउ

फिल्म ‘प्रसाद २’ को विवादमा ओएसआर डिजिटलका सञ्चालक ओमप्रकाश अग्रवाल पक्राउ परेका छन् । प्रहरी वृत्त बौद्धका अनुसार शुक्रबार पक्राउ परेका अग्रवाललाई म्याद थपका लागि आइतबार जिल्ला अदालतमा उपस्थित गराइँदैछ । ‘प्रसाद २’ का निर्माता सुदर्शन बस्नेतको उजुरीपछि प्रहरीले अग्रवाललाई पक्राउ गरेको हो । उनलाई शुक्रबार सिंहदरबार वृत्तले पक्राउ गरेर अनुसन्धानका लागि बौद्ध प्रहरीलाई बुझाएको थियो । फिल्मको डिजिटल राइटलाई लिएर निर्माण पक्ष अग्रवालसँग असन्तुष्ट बनेको थियो ।

हमास–इजरायल घटना ः संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको बैठक आह्वान

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको आकस्मिक बैठक बोलाइएको छ । प्यालेस्टेनी लडाकू समुह हमासले इजरायलमाथि गरेको आक्रमण र सम्भावित युद्धलाई मध्यनजर गर्दै छलफलका लागि बैठक डाकिएको हो ।

संयुक्त राष्ट्रसंघका महासंघका महासचिव एन्टेनियो गुटेरेसले घटनाको निन्दा गर्दै दुइ देशबीच हुन सक्ने सम्भावित युद्धलाई मध्यनजर गर्दै विश्वका नेताहरुलाई ठोस कदम चाल्न अपिल गरेका छन् । घटनाको निन्दा गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले टेलिफोनमार्फत इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई आफूहरु सँधै इजरायलको साथमा रहेको जनाएका छन् ।

यस्तै, जर्मनी र बेलायतले पनि घटनाको निन्दा गर्दै समस्या समाधानको उपाय खोज्न आह्वान गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *