साउन २६ गते शुक्रबार संकल्प खबरले दिनभरि देशभरमा भएका १० मुख्य समाचार तयार पारेको छ । दिनभरि घटेका घटनालाई एक साथ हेर्न मिल्ने गरि संकल्प विशेषलाई ध्यान दिदैँ मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो ।
हेर्नुहोस संकल्प खबरका १० मुख्य
सरकार पूर्वाग्रही भएर सांसद शर्मा पक्राउ परेको कांग्रेसको ठहर
काठमाडौं । नेपाली कांग्रेसले सांसद सुनिल शर्मा पक्राउ परेकोप्रति आपत्ति जनाएको छ।
शुक्रबार बसेको सो पार्टीको संसदीय दलको बैठकमा सांसदहरूले सरकार पूर्वाग्रही भएर सांसद शर्मा पक्राउ परेको ठहर गरेका हुन् ।सांसद अर्जुननरसिंह केसीले सांसद शर्मा पक्राउ शंकास्पद रहेको बताए।सुन प्रकरणमा अर्थमन्त्री प्रकाशशरण महत र गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेको हुनाले सांसद शर्मालाई पक्राउ गरिएको त होइन?,’ केसीले आशंका व्यक्त गरे। सांसद शर्माले केही दिनअघि प्रतिनिधि सभा बैठकमा बोल्दै सुन प्रकरण छानबिन गर्न गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनुपर्ने विषय राखेका थिए।
सांसद श्याम घिमिरेले शर्माको अभिव्यक्तिलाई लिएर प्रतिशोध साँधेर पक्राउ गरेको आरोप लगाए।उनले भने, ‘संसद चलिरहेको बेलामा यसरी गिरफ्तारी गर्नुपर्ने कारण के पर्यो ? अरु बाटाहरु पनि थिए। उहाँलाई बयान लिन सकिन्थ्यो होला। थुनामै राख्नुपर्ने कारण के पर्यो ?यो प्रतिशोधको भावले काम गरेको बुझाइ हाम्रो रह्यो। यसको गृहमन्त्रीले संसद र सार्वजनिक रुपमा जवाफ दिनुपर्यो।’ सांसद उदयशम्शेर राणाले पार्टीका एकपछि अर्का नेतामाथि सरकारले अभियोग लगाएको बताएका छन्। दलको बैठकमा पूर्वअर्थमन्त्रीसमेत रहेका कार्कीले सांसद शर्माले कुनै हत्या नगरेकाले बाहिरै बसेर मुद्दा लड्न पाउनुपर्ने बताए।
सुनिल शर्मालाई थुना बाहिर राखेर अनुसन्धान गर्न अदालतको आदेश
काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई थुना बाहिर राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ । शुक्रबार काठमाडौं जिल्ला अदालतका न्यायधीश दन्डपाणी शर्माले उक्त आदेश दिएका हुन् ।
नक्कली प्रमाणपत्र प्रकरणमा सीआइबीले बिहीबार पक्राउ गरेको थियो । नक्कली प्रमाणपत्र प्रकरणमा पक्राउ परेका शर्मा बाहेक अन्य पाँच जना चिकित्सकलाई ५ दिनको समय दिइएको छ।
१७ वर्षपछि गौर हत्याकाण्डको छानबिन गर्नु रहस्यमय : जसपा
जनता समाजवादी पार्टीले १७ वर्षपछि गौर हत्याकाण्डको छानबिन गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ । उसले गौर हत्याकाण्ड माओवादीकै कारण भएको दाबी गर्दै अहिले घटनामा संलग्न नै नभएको व्यक्तिलाई अनुसन्धानमा तान्न खोज्नु रहस्यमय भनेको छ ।शुक्रबार पत्रकार सम्मेलन गर्दै जसपाले माओवादीकै कारण गौर हत्याकाण्ड भएको पनि बताएको छ । पत्रकार सम्मेलनमा जसपा प्रवक्ता मनिषकुमार सुमनले मधेस, थरुहटलगायत आन्दोलनको छानबिन गर्न बनेको लाल आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरेको छ ।
उसले गौर हत्याकाण्डको छानबिन गर्न खोज्नुले तत्कालीन सरकार र मधेसी जनअधिकार फोरमबीच भएको सम्झौताको उल्लंघन भएको पनि स्पष्ट पारेको छ ।
बाबुराम भट्टराईले भने– लडाकु शिविरमा भएको घोटालाको छानबिन गरौं
पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले माओवादी लडाकु शिविर ९क्यान्टोन्मेन्ट० मा भएको घोटालाको पनि छानबिन हुनुपर्ने माग गरेका छन् ।शुक्रबार बुटवलमा आयोजित पत्रकार भेटघाटमा उनले क्यान्टोन्मेन्ट घोटालासहित विमान घोटालासम्म सबैको उच्चस्तरीय छानबिन हुनुपर्ने बताए । लडाकु शिविर घोटालामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, तत्कालीन अर्थमन्त्री वर्षमान पुन, जनार्दन शर्मा, कृष्णबहादुर महरालगायत सबै तानिने छन् ।
आफू सत्तामा हुँदा विपक्षीलाई तर्साउन फाइलहरु खोल्ने गरिए पनि ठूला दलहरुबीच लाभका पदहरुमा भागबण्डा गरेर अनुसन्धान बीचमै सामसुम हुने गरेको भट्टराईले आरोप लगाए ।‘आफू सत्तामा हुँदा विपक्षीलाई तर्साउन विषय उछाल्ने परिपाटी छ, तर ठुला तीन दल साँठगाँठ गरेर भागबण्डामा कुरा मिलाउँछन्, अनि अनुसन्धान सामसुम हुन्छ’, भट्टराईले भने, ‘अहिलेको सरकारले गरिरहेका अनुसन्धान पनि सरकारलाई निल्नु न ओकल्नु भएको छ, निष्कर्षमा पुग्छन् भन्ने विश्वास छैन ।’
ललितानिवास जग्गा प्रकरणमा आफूले छानबिनमा सघाउने र खुशीसाथ बयान दिन जाने उनले बताए । ‘मैले त विगतदेखि नै सबै खाले भ्रष्टाचारको शक्तिशाली आयोग बनाएर उच्चस्तरीय छानबिन गरौं भन्दै आएको हुँ, ललिता निवास जग्गा प्रकरणमा पनि बयानका लागि तयार छु, जानेको बुझेको बताउँछु’, उनले भने ।सय केजी सुन तस्करी प्रकरणमा एमालेले उच्चस्तरीय छानबिन समिति गठनको माग गर्नु जायज भएको बताए ।
फरार भएको खबर फैलिएपछि पूर्वमन्त्री जोशीले भने– म घरमै छु, सहयोग गर्न तयार छु
पूर्वमन्त्री चन्द्रदेव जोशीले आफू फरार नभएको र घरमै रहेको स्पष्ट पारेका छन् ।
प्रहरीले सूचना चुहाउँदा ललिता निवास जग्गा प्रकरणमा पक्राउ पुर्जी जारी भएका तीन पूर्वमन्त्री फरार भएको हल्ला फैलिएपछि जोशीले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफू घरमै रहेको र फोन सम्पर्क पनि चालू रहेको जानकारी गराएका हुन् । उनले परेको बेहोर्न तयार रहेको स्पष्ट पारेका छन् ।
‘म त घर मा नै छु । मेरो फोन सम्पर्क पनि चालु छ । सहयोग गर्न तयार भएर बसेको छु । परेको बेहोर्न पनि तयार छु भनेकै छु,’ उनले लेखेका छन् ‘जीवनभर राजनीति र देशको लागि त्याग मात्र गरेको छु । कहिले कुनै स्वार्थमा परेको छैन । साँच्चै दुःख लागेको छ ।’पूर्वमन्त्री जोशीले ललिता निवासको जग्गा व्यक्तिको नाममा गर्ने नीतिगत निर्णय गर्दा आफू मन्त्रीमा बहाल नरहेको जिकिर गर्दै आएका छन् । तर सिआईबीले एकोहोरो उनको नाममा पक्राउ पुर्जी जारी भएको प्रचार गरिरहेको छ ।यो प्रकरणमा सिआईबीले जोशीसँगै विजयकुमार गच्छदार, डम्बरबहादुर श्रेष्ठ र सञ्जयकुमार साहविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
कांग्रेस सांसद सुनिल शर्माको पक्राउप्रति एमालेकी सांसद ज्वालाकुमारी शाहको आपति
कांग्रेस सांसद सुनिल शर्माको पक्राउप्रति प्रतिपक्ष दल नेकपा एमालेले आपति जनाएको छ ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा नेकपा एमालेकी सांसद ज्वालाकुमारी शाहले शर्मालाई पक्राउ गरेको प्रति आपत्ति जनाएकी हुन् ।भ्रस्ट्रचारको विषयमध्ये सय किलो सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको आवाज उठाइरहेको व्यक्तिलाई कानुनी रुपमा पनि पक्राउ गर्न नमिल्ने भन्दै उनले आपत्ति जनाएकी हुन् ।
उनले भ्रष्ट्रचारको विषयमा कुरा उठाउने व्यक्तिलाई पक्राउ गर्न नमिल्ने बताउँदै म्याद सकिएको प्रमाणपत्रलाई हतियार बनाउने निहुँले पक्राउ गरिएको भन्दै यस विषयमा नेकपा एमालेको घोर विरोध भएको बताइन।
रास्वपाले संसद् अवरुद्ध भएको दिनको तलबभत्ता नलिने, फिर्ता गरिदिन सभामुखलाई पत्र
राष्ट्रिय स्वतन्त्र पार्टीले संसद् अवरुद्ध भएको दिनको तलबभत्ता र सुविधा नलिने भएको छ । शुक्रबार रास्वपा संसदीय दलका नेता रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई संसद् अवरुद्ध भएको दिनको तलब सुविधा फिर्ता गरिदिन पत्र बुझाएका छन् । रास्वपाले नियमित रूपमा संसद् सुचारु गर्न पनि सभामुखलाई आग्रह गरेको छ । रास्वपाले दिनानुदिन जनताका समस्या चुलिँदै गएको अवस्थामा संसद् सञ्चालन हुन नसक्दा जनप्रतिनिधिले आवाज उठाउन नसकेको उल्लेख गर्दै सबै दललाई संसद् निर्वाध रूपमा सञ्चालन गर्ने वातावरण मिलाउन आह्वान पनि गरेको छ ।एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै संसद्को नियमित कामकारबाही अघि बढाउन अवरोध गर्दै आएको छ ।
कपनको खोलामा काठमाडौं महानगरले चलायो डोजर
काठमाडौं महानगरले कपनको खहरे खोलामा डोजर चलाएको छ ।
काठमाडौं महानगर र बूढानीलकण्ठ नगरपालिकाका प्रतिनिधिबीच खहरे खोला खोल्न सहमति भएपछि महानगरले खोला खोल्न डोजर चलाएको हो ।महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार काठमाडौं महानगर–७ र बूढानीलकण्ठ नगरपालिका–१० को सिमानामा पर्ने खहरे खोला खोल्न दुई वटा डोजर प्रयोग भइरहेको छ ।
महानगरले बिहीबार उक्त क्षेत्रमा डोजर चलाउन लगेको थियो । तर, खोला खन्ने विषयमा विरोध भएपछि महानगरको टोली फर्किएको थियो ।
उपचार नपाएर मृत्यु हुनुपर्ने अवस्थाको अन्त्य गरिनेछ : स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले कोही पनि नेपाली गरिबीका कारण उपचार नपाएर मृत्यु हुनुपर्ने अवस्थाको अन्त्य गर्ने प्रतिवद्वता गरेका छन् ।आफूले स्वास्थ्यमन्त्रीमा पदबहाल गरेको एक सय दिन पूरा गरेको अवसरमा शुक्रबार आयोजित स्वास्थ्य मन्त्रालयका उपलब्धि सार्वजनिक कार्यक्रममा उनले यसमा मन्त्रालयले पहल गरिरहेको बताए ।
उनले सरकारले सुर्तीजन्य पदार्थबाट प्राप्त गरेको ६ अर्वभन्दा बढी रकम स्वास्थ्य मन्त्रालय दिन माग गर्दै उक्त रकम क्यान्सरका विरामीको उपचारमा खर्च हुने बताए ।‘यस वर्ष बजेटमा मन्त्रालयलाई २० प्रतिशत कम बजेट आएको छ, तर हामीले भएको स्रोतसाधन परिचालन गरेर स्वास्थ्य सेवा सहज बनाउँछौ,’ मन्त्री बस्नेतले भने, ‘दुर्गमका मानिसले स्वास्थ्यकर्मीको अनुहार देख्न नपाउने अवस्था थियो, त्यसको अन्त्य भएको छ ।’
कैदीबन्दी मृत्यु प्रकरण स् सीसीटीभीमा देखिएपछि १० प्रहरी पक्राउ
संखुवासभामा दुई जना कैदीबन्दीको मृत्यु भएको घटनामा १० जना प्रहरी पक्राउ परेका छन्।
सङ्खुवासभाको मादी नगरपालिका— ५ का १९ वर्षीय विनोद तोलङ्गी र नुवाकोटको ककनी गाउँपालिका— ७ का २८ वर्षीय आकाश बलामी बुधबार बिहान कारागारमा अचेत भेटिएका थिए ।
उनीहरूलाई जिल्ला अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । घटना हुँदा ड्युटीमा रहेका १० जना प्रहरीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) ऋषिराम कँडेलले जानकारी दिए ।नियन्त्रणमा लिइएका प्रहरीको नाम भने उनले सार्वजनिक गर्न मानेनन् । एसपी कँडेलका अनुसार पक्राउ पर्नेमा घटना भएको समयमा ड्युटीमा रहेका प्रहरी कर्मचारी छन् ।
घटनाको शंकास्पद रहेकाले अनुसन्धानका लागि सोही दिन सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेको नेतृत्वमा समिति गठन भएको थियो । पछि प्रदेश प्रहरी कार्यालयका एसपी कँडेलको नेतृत्वमा ४ सदस्यीय र कारागार व्यवस्थापन विभागका अधिकृत कमल पाण्डे नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन भएर घटनाको अनुसन्धान भइरहेको छ ।
छानबिन समितिमा रहेका एक सदस्यका अनुसार सीसीटीभी फुटेजमा केही प्रहरीले कैदीबन्दीलाई लछारपछार र कुटपिट गरेको दृश्य देखिएको छ। त्यसबारेमा सम्बन्धित प्रहरीमाथि सोधपुछ र अनुसन्धान भइरहेको एसपी कँडेलले बताए ।
‘शुक्रबार साँझसम्म ठोस विवरण खुल्ने गरी काम गरिरहेका छौं । पक्राउ परेका प्रहरीलाई जिल्ला प्रहरी कार्यालयमा राखेका छौं,’ उनले भने । त्यस्तै, घटनाको अनुसन्धानका लागि ९ जना कैदीबन्दीलाई पनि नियन्त्रणमा लिइएको छ।




