२१ औं शताब्दीको शुरुवाती दिनबाटै विश्वले आतंकवादको सामना गर्नुपर्यो । विश्व महाशक्ति राष्ट्र अमेरिकाको पेन्टागन (अमेरिकी रक्षा मन्त्रालय) लाई निसाना बनाएर अलकायदाले सन् २००० को शुरुमा नै हमला गर्यो । इस्लामिक नेता ओसामा विन लादेनको समुह अलकायदाले ११ सेप्टेम्बर २००१ का दिन आत्मघाती बम हमला गरेर गगनचुम्बी अमेरिकी टुईन टावर ध्वस्त पार्यो । यसले इस्लाम र इसाई धर्मावलम्बीहरुबीच वैमनस्यता देखापर्यो । यस आक्रमणले इस्लामिक सभ्यता र इसाई सभ्यताका बीचमा गहिरो मनोमालिन्यता देखियो । यसपछि आक्रमण र प्रत्याक्रमणको श्रृंखला नै चल्यो । इन्डोनेसियाको बाली, बेलायतको राजधानी लण्डनको भूमिगत रेल स्टेशन, स्पेनको राजधानी मट्रिड, फ्रान्सको राजधानी पेरिस, बेल्जियमको व्रसेल्स, स्पेन आदि स्थानहरुमा भिषण आतंकवादी आक्रमण भएका छन् । तिनको प्रतिरोधमा पाकिस्तान, इराक, इरान, टर्की, सिरिया, लिविया, अफ्गानिस्तान आदिमा प्रत्याक्रमणहरु भएर हजारौ मानव जीवनले असामयिक र अकाल मृत्युवरण गर्नु पर्यो ।
आतंकवादले मानव सभ्यतालाई नै चुनौती दिईरहेको छ । विश्वमा हत्या, हिंसा, अराजकता, नरसंहार र भौतिक सम्पत्तीमाथिको हमलाहरु निरन्तर भई रहेका छन् । तिनीहरुले आफूलाई मात्र समाप्त गरिरहका छैन्, मानव समाज र सँस्कृतीलाई नै समाप्त पार्न लागि परेका छन् । एक्काइसौं शताब्दीको विश्व आतंकवादको चपेटामा परेको छ । आतंकवाद फ्रेञ्च शब्द त्भचचयचभकयझभ बाट आएको हो । यसलाई पहिलो विश्वयुद्धपूर्व राज्य आतंकको रुपमा हेरिन्थ्यो । अहिले यसलाई अन्तर्राष्ट्रिय आतंकवादको रुपमा परिभाषित गरेर नियन्त्रणको प्रयास भईरहेको छ ।
समाज, राज्य र अन्तर्राष्ट्रिय समुदायमा डर, धाक, धम्की, जोरजुलुम, बल वा अवैध शक्तिको प्रयोगबाट त्रास फैलाउने क्रियाकलापहरु आतंककारी कार्य हो । यो अमानवीय क्रुर ज्यादती, हत्या र हिंसाको माध्यमबाट राजनीतिक, आर्थिक, साँस्कृतिक, धार्मिक उदेश्य हासिल गर्न फैलाउने संत्रास हो । अमेरिकामाथिको अलकायदा हमला पश्चात विश्वले आतंकवादलाई चुनौतीको रुपमा स्वीकार गर्यो । ट्विन टावर आक्रमणदेखि निरन्तर आतंकवादका विरुद्ध अन्तर्राष्ट्रिय राजनीतिमा बहस र नियन्त्रण प्रयासहरु भई रहेका छन् तर सार्थक परिणाम हासिल हुन सकेको छैन् । सेप्टेम्बर ११ को घटना अमेरिकाले सामना गरेको सबैभन्दा ठूलो आतंककारी आक्रमण थियो । जसमा करिब चार हजार मानिसले ज्यान गुमाएका थिए । त्यसयता अमेरिकी गठवन्धन र अमेरिका एक्लैले आतंकवाद नियन्त्रणको लागि सैन्य कार्वाही गर्दै आईरहेको छ ।
हिंसा तथा बल प्रयोग गरेर त्रास एवं भयको वातावरण सिर्जना गर्ने कार्य समकालिन विश्वमा जटिल समस्या बनेर देखा परेको छ । अमेरिकी ट्रेड टावरमाथिको आक्रमणले आतंकवाद ठूलो अन्तर्राष्ट्रिय मुद्धा बन्न पुग्यो । मानवता विरुद्धको यस प्रकारका अपराधबाट सर्वसाधारण जनता, महिला, वालवालिका देखी शक्तिशाली देश र त्यहाँको सत्ता समेत निसानामा परेको परिदृष्य देखा पर्यो । अपहरण, हिंसा, वन्धक बनाउने, वेचविखन गर्ने र चर्चित व्यक्तिहरुको हत्यासम्मका घटनाहरु आतंकवादीहरुबाट हुने गरेका छन् ।
विश्वव्यापीकरण र प्रविधिको तिव्र विकासको उपयोग गरेर आतंकवादीहरुले ठूला–ठूला घटनाहरु घटाएका छन् । विश्व मानव समाजलाई त्रसित र भयभित बनाएका छन् । सामाजिक, साँस्कृतिक र धार्मिक विभेदले निम्त्याएको असमानता एवं उत्पीडन, राजनीतिक अधिकार प्राप्तिको लागि लिईने हिंसाको सहारा, बेरोजगारी, अन्याय, अत्याचार र भूमिगत गिरोहका अपराधिक क्रियाकलापहरुले आतंकवादलाई प्रोत्साहन गरेको छ ।
सन् १९३५ मा भएको आतंकवादी अपराधबारेको सम्मेलनले डर, धाक, धम्की र जवरजस्ती पूर्ण हत्या, हिंसा र अमानवीय क्रियाकलापलाई आतंकवाद परिभाषित गरेको थियो । सन् १९३७ मा आतंकवाद दमन गर्ने तथा अन्तर्राष्ट्रिय फौजदारी अदालतको गठन गर्ने सम्बन्धी महासन्धी गरिएको थियो । वायुयान अपहरण सम्बन्धी टोकियो महासन्धी–१९६३, वायुयानको उडानको अवस्थामा अवैध नियन्त्रण गर्ने सम्बन्धी हेग महासन्धी–१९७० र नागरिक उड्डयान सुरक्षा सम्बन्धी मन्ट्रेल महासन्धी–१९७१ भएपश्चात आतंकवाद नियन्त्रणमा अन्तर्राष्ट्रिय प्रयास तिव्रता आएको छ । सन् १९७० को संयुक्त राष्ट्रसङ्घको महासभाले आतंकवादी विरुद्ध कार्य गर्न र नियन्त्रण गर्न सहयोग गर्नु पर्ने सदस्य राष्ट्रहरुलाई जिम्मेवारी तोक्यो ।
सन् २००१ मा भएको संयुक्त राष्ट्रसङ्घको महासभाले आतंकवादलाई गैर सरकारी समुह वा व्यक्तिहरुको संलग्नता मात्र नभएर परोक्ष सरकारी सहयोग वा घुसपैठ हुने कुराप्रति चनाखो भएर आतंकवाद निर्मूल पार्न सहयोग नगर्ने र आतंकवादलाई सहयोग गर्ने राष्ट्रहरुलाई दण्डित गर्ने कानुन पारित गर्यो । संयुक्त राष्ट्रसङ्घको सन् २००७ मा सम्पन्न महासभाले यसअघिका सवै प्रयासहरुलाई निरन्तरता दिँदै आतंकवाद विरुद्ध सवै राष्ट्रहरुको साझा प्रयासमा जोड दिएको थियो । त्यस यता भारतको मुम्बई, युरोप, स्पेन, फ्रान्स, अफ्रिका, श्रीलंका, बंगलादेश, पाकिस्तान, अफगानिस्तान, अरबका इजिष्ट, इराक, सिरिया,लिविया, लेवनान लगायतका मुलुकहरुमा आतंकवादी हमलाहरुको श्रृङ्खला देखा पर्यो । संसारमा करिब एक सय जति आतंकवादी संघ–संगठनहरु क्रियाशील रहेको अनुमान छ ।
अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसको कार्यकालमा इराकमाथिको हमला र सद्दाम हुसेनको अन्त्य अमेरिकाले चलाएको आतंकवाद विरोधी कार्वाहीको कडि थियो । इराकले आतंकवादी संगठन अलकायदालाई संरक्षण दिईएको अमेरिकी आरोप थियो । इराक रगतको पोखरीमा तैरियो, सद्दाम हुसेन फासीको तख्तामा चढे तर अलकायदाको आतंक साम्य भएन् । सन् २०११ मे २ मा बाराक ओबामाको कार्यकालमा पाकिस्तानको अबाट्टावादमा अमेरिकी सेनाको कार्वाहीमा ओसामा बिन लादेन मारिए । अलकायदाको गतिविधी न्यून हुन थाल्यो तर त्यस यता अफ्गानिस्तान, पाकिस्तान लगायतका देशहरुमा अमेरिकाले हमला जारी राख्यो भने जेहादी संगठनहरु विस्तार भएर युरोपसम्म फैलिए ।
जर्मनी, फ्रान्स, बेल्जियम, बेलायत र अमेरिका लगायतका विभिन्न देशहरु आतंकवादीहरुको निशानामा परे । अमेरिका, युरोप, एशिया र अफ्रिका लगायतले आतंकवाद नियन्त्रण र निर्मूल पार्न कानुन निर्माण, सैनिक सहकार्य र गुप्तचर निकायहरुलाई सशक्तीकरण गर्ने कार्यमा लागि रहेका छन् । सुरक्षा निकायभित्र प्रतिआतंकवाद सेल, सम्पत्ति शुद्धिकरण कानुन आदिको माध्यमबाट आतंकवाद नियन्त्रण प्रयासमा अग्रसरता लिएको छ । तथापी आतंकवाद विश्वका विभिन्न कुनाहरुमा फैलिएको छ । आतंकवादको चुनौती अन्तर्राष्ट्रिय, क्षेत्रीय, उपक्षेत्रीय र देशीय स्तरमा देखिएको छ । दक्षिण एसिया आतंकवादी गतिविधिका लागि सामरिक क्षेत्र हो । यस क्षेत्रमा आतंकवादी क्रियाकलाप गर्दै आएका विभिन्न संघ, संगठनहरु अस्तित्वमा रहेको देखिन्छ ।
दक्षिण एसियाली देशहरु विविधतायुक्त समाज, संस्कृति र जाति भएका मुलुकहरु हुन । यो विविधता राष्ट्रिय सवलताको साथै कहिलेकाँही समस्या पनि बन्ने गरेको छ । जातिय पहिचान र धार्मिक बर्चश्वको सवाल पेचिलो बनेको अवस्थामा आतंकवादले प्रशय पाउने खतरा रहन्छ । आतंकवादीहरुका शक्तिशाली संगठन र समुहहरुको आश्रय र परिचालन दक्षिण एसियाली भूभागबाट भएका कतिपय घटनाहरुले यस धारणालाई बल पुर्याएको छ ।
आन्तरिक विविधताभित्र माथिल्लो संरचना र तल्लो तहका बीचमा असमानता, विभेद र अन्याय वा दमनको महसुस गर्ने समुह वा समुदायको ठूलो हिस्सा रहेको छ । श्रीलंकाको तामिल जाति, पाकिस्तान र अफ्गानिस्तानका तालिवानहरु, भारतका मुस्लिम तथा दलितहरु, नेपालका अल्पसंख्यक जाति–जनजातिहरुले राज्यको मूल प्रवाहबाट नै आफूहरु हेपिएको र परिधिमा धकेलिएको आवाज उठाउँदै आएको तथ्यहरुले दक्षिण एसियाली भूभाग संवेदनशील रहेको इंगित गर्दछ । अर्कोिितर भूराजनीति समस्याहरुले पनि आतंकवादी क्रियाकलाप गर्न मलजल गरेको छ । दक्षिण एसियाली देशहरु बीचमा नै सीमा, जलस्रोत, धार्मिक अधिकारका विषयमा मतभेद र तिक्तता रहेको छ । यसले पनि आतंकवादलाई प्रत्यक्ष वा परोक्ष फाईदा पुग्न सक्ने परिस्थिति छ ।
दक्षिण एसियामा तालिवान, अलकायदा, लस्करे–ए–तोयवा, आईएस, जैस इ. मोहम्मद, पाकिस्तानी मुजाहिद्दिन, इण्डियन मुजाहिद्दिन आदि आतंकवादी समुहहरु क्रियाशिल रहेका छन् । तालिवान अफ्गानिस्तान र पाकिस्तानको मुख्य समस्या हो । सन् २ जुलाई, २०१७ मा बंगलादेशको ढाकास्थित होली आर्टिसन बेकारी क्याफेमा आतंकारीहरुले हमला गरेर २० जना सर्वसाधारण मानिसको हत्या गरेका थिए । उक्त क्याफे नियन्त्रणमा लिन प्रहरीलाई दुई दिन लागेको थियो । छिमेकी भारत पहिले देखि नै आतंकवादी निशानामा परिरहेको छ । २४ डिसेम्बर १९९९ मा काठमाडौंबाट दिल्ली प्रस्तान गरेको भारतीय विमान अपहरण गरेको थिए ।
दक्षिण एसियाली देशहरुको साझा संगठन सार्कले आतंकवाद नियन्त्रणको प्रयास र पहल गर्दै आएको छ । सार्कले सन् १९८७ मा आतंकवाद विरुद्धको सार्क महासन्धी लागू गरेर आतंकवादी समूहहरु र क्रियाकलाप नियन्त्रणको साझा प्रतिवद्धता अघि सार्यो । सन् २००९ मा सम्पन्न शिखर सम्मेलनबाट आतंकवाद नियन्त्रण र दमन सम्बन्धी क्षेत्रीय महासन्धीमा बिमस्टेकका सदस्य राष्ट्रहरुले हस्ताक्षर गरेका छन् । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन ९क्ब्ब्च्ऋ०, दक्षिण एसियाली र दक्षिण पूर्वी एसियाली देशहरुको वहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि वंगालको खाडीको प्रयास ९द्यक्ष्क्त्ऋः० जस्ता संगठनका शिखर सम्मेलनमा सीमापार अपराध र अन्तर्राष्ट्रिय आातंकवादका विरुद्ध लड्ने साझा प्रतिवद्धताका अतिरिक्त सन् २००९ मा नै सम्पन्न असङ्लग्नराष्ट्रहरुको शिखर सम्मेलनले आतंकवाद नियन्त्रणका लागि साझा प्रतिवद्धतापत्र जारी गरेको छ । यस कोणबाट हेर्दा विश्व आतंकवाद र आतंकवादी क्रियाकलाप प्रति संवेदनशील भएको देखिन्छ ।
विश्वमा पहिलो पटक सन् १९८० मा आईरिस फेनिनाजलाई निश्तेज पार्न बेलायतले प्रतिआतंकवाद युनिटको स्थापना गरेर कार्य आरम्भ गरेको थियो । चाहे अराजकतावदी धार या रेड टेरोरिजम र धार्मिक आतंकवाद होस यि सवैको उदेश्य डर त्रास फैलाउनु नै हो । राज्य वा गैर राज्यद्वारा आम नागरिकलाई त्रास र भयको वातावरण उत्पन्न गराउनु यिनको उदेश्य हो । आतंकवादको खास वर्ग, धर्म, जात, भाषा र क्षेत्र हुन्न । यसको काम नै विश्वभर सर्वसाधरण मानिसहरुलाई भयभित बनाएर समाजमा कम्पन्न र आतंक फैलाउने हो । चाहे सन् २०१७ जुन महिनामा लन्डन ब्रिजमा भएको हमला होस, चाहे नाईजेरियामा स्कुले किशोरीहरुको अपहरण र वन्धक बनाउने कार्य होस, चाहे सन् २०१६ जुलाई १४ मा फ्रान्सको निसस्थित कन्सर्टमा भएको आक्रमण होस मानिसहरुलाई त्रसित बनाएर आतंक सिर्जना गर्ने उनीहरुको उदेश्य देखिन्छ ।
सन् २००० को प्रारम्भिक दिनबाटै आतंकवाद विरुद्ध विश्व समुदायमा सहकार्यको आवश्यकता महसुस गरियो । शक्तिशाली गठबन्धन बनाएर आतंकवाद विरुद्ध लड्न अमेरिकी नेतृत्वमा विश्व तयार भयो । विश्वमा मानिसहरुबाट मानव माथि हुने हिंसात्मक र घातक आक्रमणको रुपमा आतंकवादलाई स्वीकार गरियो । विश्वले आतंकवादी क्रियाकलाप र हिंसात्मक गतिविधिको प्रतिरोधमा सामुहिक प्रयास गर्न थाल्यो ।
विश्वव्यापी साझा चुनौतीको स्वीकार गरेको आतंकवादी समस्या समाधानको नियन्त्रण प्रयासका बाबजुद जिहादी संगठन र आईएसले युरोप तथा एसियाका इस्लामिक देशहरुलाई केन्द्रीत गरेर आतंकवादी क्रियाकलाप गरिरहेको अवस्था विद्यमान छ । यसले अन्तर्राष्ट्रिय राजनीति र कुटनीतिमा चुनौतीहरु खडा भएको छ । कुटनीतिज्ञहरु र कुटनीतिक नियोगहरु समेत आतंकवादको निसानामा परिरहेको वर्तमान परिस्थितिमा अन्तर्राष्ट्रिय राजनीति र कुटनीतिको सवाल एवं सरोकार आतंकवाद र आतंकारी क्रियाकलाप नियन्त्रण तथा निश्तेज पार्ने पनि हो । विश्वमा २१औं शताब्दीको आगमनसंगै फैलँदै गएको आतंकवाद नियन्त्रणको प्रयासमा सफलता हासिल गर्न नसकिरहेको यथार्थ छर्लङ्ग छ ।
विश्वमा स्थायी शान्ति र सुरक्षाको प्रत्याभूति गर्न आतंकवाद मुख्य तगारो बनेको छ । आतंकवादी संगठनहरुको उदेश्य फरक हुन सक्दछन् तर तिनको कार्य भनेको आतक, संत्रास र भय सिर्जना गर्नु नै हो । आतंकवाद समाजको एउटा कुनामा मात्र सिमित छैन् । विश्वका विभिन्न भागमा फैलिएको छ । यो राष्ट्रिय सीमा पार गरेर अन्तर्राष्ट्रिय क्षेत्रसम्म विस्तार भएको छ । राष्ट्रको मात्र चिन्ता, चासो र सरोकारको विषय नभएर विश्वको जटिल चुनौती बनेको छ । त्यस कारण आतंकवादको विषयमा कुटनीतिज्ञहरु संवेदनशील र जानकार हुन आवश्यक पर्दछ नै समाजका प्रत्येक नागरिक समेत यसका विषयमा सचेत हुनै पर्दछ ।




