मनोरञ्जन

भोलीदेखी चलचित्र काँडेतारको प्रदर्शन देशभर बन्द हुने

काठमाडौं । नेपाली चलचित्र काँडेतार टिमले आइतबारदेखि देशभर प्रदर्शन बन्द गर्ने निर्णय गरेको छ । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै निर्माता तथा निर्देशक नवल खड्काले हल सन्चालकबाट काँडेतार फिल्म प्रदर्शनमा असहयोग भएको भन्दै देशभर प्रदर्शन बन्द गर्ने घोषणा गरेका हुन् । देशभक्तिपूर्ण भावनाको फिल्म काँडेतार गत शुक्रबारदेखि प्रदर्शनमा आएको थियो ।

त्यसअघि खड्काले आफू निर्देशित फिल्म ‘काँडेतार’लाई फागुन २५ गते एकल प्रदर्शन गर्न दिन भन्दै चलचित्र विकास बोर्डमा निवेदन दिएका थिए । तर सोही मितिमा ‘काँडेतार’सहित ‘उपहार’ र ‘रंगेली’ पनि रिलिज भएका थिए ।खड्काको निर्देशन तथा अभिनय रहेको फिल्म काँडेतारले सीमा अतिक्रमणको मुद्दा उठाएको छ । नेपालको सीमा मिचेर भारतले मुलुकको राष्ट्रिय स्वाधिनतामा हस्तक्षेप गरेको कथावस्तु फिल्ममा पेश गरिएको छ । तर यो फिल्ममा सरकारबाट पनि सहयोग नपाएको गुनासो निर्देशक खड्काले गरेका छन् ।

यसअघि आवाज, दशगजा र भीमदत्तजस्ता देशभक्ति कथावस्तुमा फिल्म बनाएका खड्काको यो पछिल्लो फिल्मले नेपाल–भारत सीमामा काँडेतार लगाएर सिमाना व्यवस्थित गर्नुपर्ने मत पेश गर्छ । फिल्म ‘काँडेतार’को मुनाफाको २५ प्रतिशत रकम सीमा क्षेत्रमा ज्यान गुमाउने शहीद परिवार र घाइतेको उपचारमा सहयोग गर्ने बताइएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *