जलश्रोत/उर्जा

प्राधिकरणले स्मार्ट मिटर किन्न प्रक्रिया अघि बढायो

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकाभित्र जडान गर्न ३ लाखभन्दा बढी स्मार्ट मिटर किन्ने प्रक्रिया अगाडि बढाएको छ । अर्को आर्थिक वर्षभित्र जडान गर्ने लक्ष्यका साथ प्रक्रिया अगाडि बढाइएको हो ।

प्राधिकरणअन्तर्गत उपत्यकाभित्र ११ वटा वितरण केन्द्र छन् । यी मध्ये रत्नपार्क र महाराजगन्ज वितरण केन्द्र अन्तर्गतका करिब ९० हजार ग्राहकमा स्मार्ट मिटर भइरहेको छ । बाँकी ९ वितरण केन्द्रमा स्मार्ट मिटर जडान गर्न खरिद प्रक्रिया अगाडि बढाइएको प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले बताए ।

एसियाली विकास बैंक (एडिबी) र नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले बिहीबार आयोजना गरेको ‘नेपाल स्मार्ट विद्युत् ग्रिडतर्फ अग्रसर’ अन्तरक्रियाका क्रममा सिलवालले भने, ‘प्राधिकरणले मिटर खरिद गर्न प्रक्रिया अगाडि बढाइसकेको छ । एडिबीबाट ठेक्का प्रक्रिया स्वीकृत भइसकेको छ ।’

दोस्रो चरणमा उपत्यकाका ३ लाख १५ हजार ग्राहकमा स्मार्ट मिटर जडान गरिने पनि उनले जानकारी दिए । प्राधिकरणले पहिलो चरणअन्तर्गत रत्नपार्क र महाराजगन्जका १५ हजार ग्राहकमा स्मार्ट मिटर जडान गरिसकेको छ ।

प्राधिकरणका अनुसार ९० हजार ग्राहकमा जडान गर्न ९८ हजार मिटरको ठेक्का गरिएको थियो । यसमध्ये ३२ हजार आइसकेको, ३५ हजार कम्पनीबाट पठाइएको र बाँकी ३५ हजार पठाउने तयारीमा रहेको छ । अबको ५ महिनाभित्र पहिलो चरणको मिटर जडान गर्ने काम पूरा हुने जनाइएको छ ।

१८ महिनाभित्र काम सक्ने गरी चीनको पिंगाओ कम्पनीसँग भएको ठेक्का सम्झौता अनुसार पहिलो चरणको काम सन् २०२१ अप्रिलमा सकिन्छ । पछिल्लो समय विश्वभर फैलिएको कोरोना महामारीका कारण काम पूरा हुन केही बढी समय लाग्ने सिलवालको भनाइ छ ।

उपत्यकापछि विस्तारै काठमाडौं बाहिर यो कार्यक्रम सुरु गर्ने प्रधिकरणको योजना छ । आगामी वर्षहरूमा यसमा निजी क्षेत्र र यससँग चासो राख्ने व्यक्तिहरूको सहभागिता पनि गराउन सकिने एडिबीमा ऊर्जा क्षेत्र हेर्ने पुष्कर मानन्धरले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *