जलश्रोत/उर्जा

वीरगन्ज औद्योगिक क्षेत्रमा लाइन काटिने समस्या हट्यो

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले वीरगन्ज क्षेत्रमा दैनिकरूपमा लोड सिफ्ट गर्दा लाइन काटिने समस्या सदाका लागि अन्त्य गरेको छ । नेपाल र भारतबाट आउने विद्युतीय प्रसारण लाइनबीच एकरूपमा कायम गरी उक्त समस्या समाधान गरिएको हो ।

रक्सोल–परवानीपुर १३२ केभी प्रसारण लाइनमार्फत नेपाल र भारतबाट प्रवाह हुने विद्युतीय लाइनमा एकरूपता कायम गरिएको प्राधिकरणका कामु कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए । ‘भोल्टेज कम भएको समयमा वा विद्युत् अपुग हुँदा भारतीय लाइन काटेर नेपालबाट प्रवाह गर्दा वा नेपालको काटेर भारततर्फको जोड्दा बिजुली काट्नुपथ्र्यो,’ उनले भने, ‘अब त्यो समस्या आउँदैन ।’

प्राधिकरणले रक्सोल–परवानीपुर लाइनलाई पर्साको पिलुवा हुँदै हेटौंडाको कमाने सबस्टेसनसम्म एउटै फेजमा मिलाएको छ । यसबाट वीरगन्ज तथा सिमराका औद्योगिक क्षेत्र र गार्हस्थ उपभोक्तालाई ठूलो राहत हुने हेटौंडा ग्रिड महाशाखा प्रमुख विक्रमकुमार अमात्यले बताए । ‘यसअघि रक्सोल र परवानीपुरमा छुट्टा–छुट्टै बस थिए, लोड सिफ्ट गर्दा विद्युत् आपूर्ति एकछिन काटेर स्वीचिङ गर्नुपथ्र्यो,’ उनले भने, ‘यसबाट औद्योगिक क्षेत्रले ठूलो समस्या झेलेका थिए । अब समाधान भएको छ ।’

लोड सिफ्ट वा एउटा बसबाट अर्कोमा रूपान्तरण गर्दा लाइन काट्नु जरुरी हुन्थ्यो । जसका कारण उद्योगमा चलिरहेका ठूला मेसिन तथा उपकरणमा समस्या आउने, बिग्रने, फुट्ने र समयभन्दा अगाडि नै काम नलाग्ने हुने समस्या दोहोरिन्थ्यो । उद्योगीहरूले लामो समयदेखि यो समस्याबारे अवगत गराउँदै आएका थिए । अब उपकरण पूर्णरूपमा सुरक्षित हुने भएपछि त्यसको मर्मत संभार र बदली गर्दा लाग्ने लाखौं रुपैयाँ जोगिनेछ ।

उद्योगीहरूले दशकौंदेखि यो समस्या झेल्दै आएका थिए । पछिल्लो समय प्राधिकरणले ढल्केबर सबस्टेसन ४ सय केभीमा चार्ज गर्यो । र, खिम्ती–ढल्केबरको लाइनको फरक–फरक फेजलाई पनि एउटैमा रूपान्तरण गर्यो । यो सफल भएपछि रक्सोल–परवानीपुरको लाइनलाई एकरूपता गरिएको शाक्यले बताए ।

ढल्केबर सबस्टेसन ४ सय केभीमा चार्ज तथा खिम्ती–ढल्केबर हुँदै भारतीय लाइनमा एकरूपता र रक्सोल–परवानीपुर लाइनमा गरिएको एकरूपता शाक्य कार्यकारी निर्देशक भएर आएपछि परिणाम देखिएका महत्त्वपूर्ण काम हुन् । अब उनका लागि ढल्केबर सबस्टेसन तथा अन्तरदेशीय प्रसारण लाइन उपयोग गरी बर्खामा बढी हुने विद्युत् व्यवस्थापन गर्नु अर्को मुख्य चुनौती बनेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *