शिक्षा / स्वास्थ्य

ओमिक्रोन भेरियन्ट : ९ देशका यात्रुलाई नेपाल प्रवेशमा प्रतिबन्ध

काठमाडौं । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको त्रास बढ्दै गएपछि सरकारले अफ्रिकासहितका नौ मुलुकबाट आउने यात्रुलाई नेपाल प्रवेशमा अनुमति नदिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाब्वे, नामिबिया, लेसोथो, इसवाटिनी, मोजाम्बिक, मलावी र हङकङबाट नेपाल आउनेलाई प्रवेश अनुमति नदिने निर्णय गरेको हो ।

ती मुलुकलाई ट्रान्जिट बनाई नेपाल आउने वा गएको तीन हप्ताभित्र ती मुलुक भ्रमण गरेका यात्रुलाई बिहिबार राति १२ बजेदेखि नेपाल प्रवेशको अनुमति नदिने निर्णय गरेको हो ।

जनजीवनलाई सामान्य राख्ने उद्देश्यले अर्को आदेश नभएसम्मका लागि सङ्क्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकारबमोजिम सरकारले यसअघि नै आदेश जारी गरिसकेको छ । सरकारबाट आदेश जारी हुँदाका बखत ती मुलुकमा ट्रान्जिटमा रहेका सम्पूर्ण यात्रु नेपाल आगमनपछि आफनै खर्चमा अनिवार्यरूपमा सात दिन होटल क्वारेन्टिनमा बस्नुपर्नेछ ।

सङ्क्रमण जोखिम भएका मुलुकबाट नेपाल भ्रमणमा आउने यात्रुलाई अनअराइभल भिसा पनि नदिने सरकारले निर्णय गरेको छ । सङ्क्रमण जोखिम भएका मुलुकबाट नेपाल भ्रमण गर्ने यात्रुले आफ्नै खर्चमा अनिवार्यरूपमा सात दिन होटल क्वारेन्टिनमा बस्नु पर्नेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *