काठमाडौँ । सरकारले फागुन २३ गतेदेखि ज्येष्ठ नागरिकहरूलाई कोरोना भाइरस विरुद्धको खोप लगाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आज बुधबारको प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले ६० वा सोभन्दा बढी उमेरका नागरिकहरूलाई यही २३ गतेदेखि देशभरका खोप केन्द्रबाट खोप लगाइने जानकारी दिएका छन्।
कोरोना सङ्क्रमण कारण मृत्यु भएका व्यक्तिहरूको तथ्याङ्क समयमै नराख्ने तथा रिपोटिङ नगर्ने अस्पतालहरूलाई कारबाही तथा सचेत गराउने निर्णय भएको प्रवक्ता प्रा.डा. गौतमले बताए।
यस्तै, नेपालमा हालसम्म २ लाख ६३ हजार ४ सय ८६ जनाले कोरोना विरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
माघ १४ गतेबाट सुरु भएको खोप अभियानमा ८४ प्रतिशत लक्षित व्यक्तिहरूले खोप लगाएकोमा हालसम्म कुनै गम्भीर स्वास्थ्य समस्या देखा नपरेको समेत मन्त्रालयको भनाई छ ।
यसैबीच, आज देशभर १ सय २५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
देशभर ३ हजार ८ सय ३८ वटा नमुनाको परीक्षण गर्दा ७७ पुरुष र ४८ महिलामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमित हुनेको सङ्ख्या २ लाख ७३ हजार ७० पुगेको छ ।
आज कोरोना भाइरसको सङ्क्रमणबाट ९१ जना निको भएका छन् । योसँगै हालसम्म निको हुनेको सङ्ख्या २ लाख ६९ हजार ३ सय ९४ पुगेको छ ।
देशभरका १ हजार ६ सय २१ सक्रिय सङ्क्रमित मध्ये ६१ जनाको आइसियु र १३ जनाको भेण्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।




