काठमाडौं । अक्सफर्ड युनिभर्सिटीले कोरोनाभाइरसविरुद्ध बनाएको खोपले ७० प्रतिशत सुरक्षा दिने दाबी गरिएको छ । अक्सफर्डको खोप धेरै सस्तो हुने, सजिलै भण्डारण गर्न सकिने तथा संसारमा जहाँ पनि सहज रूपमा लैजान सकिने बताइएको छ।
नियामक निकायबाट प्रयोग गर्न अनुमति प्राप्त भएमा यो खोपले कोरोनाभाइरसको वैश्विक महामारी नियन्त्रणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अक्सफोर्डले जनाएको छ।
खोप विकासका लागि प्रायः एक दशक लाग्ने प्रक्रिया अक्सफर्डका वैज्ञाननिकहरूले १० महिनामा सम्पन्न गरेका थिए। ‘आजको घोषणाले हामीलाई खोपको प्रयोगबाट कोरोनाभाइरसका कारण सिर्जित विनाश अन्त्य गर्न अर्को पाइला अगाडि लगिदिएको छ,’ उक्त खोप निर्माणकी योजनाकार प्राध्यापक सारा गिल्बर्टले भनिन्।
बेलायत सरकारले अक्सफर्ड खोपको १० करोड मात्रा लिने बताइसकेको छ। त्यो परिमाणको खोप पाँच करोड मानिसालाई पर्याप्त छ। यसअघि फाइजर र मोडर्ना कम्पनीले बनाएका दुई छुट्टाछुट्टै खोपले ९५ प्रतिशत सुरक्षा प्रदान गर्ने घोषणा गरिएको थियो।




