काठमाडौं । नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेशका नेताहरूले पार्टीमा विशेष महाधिवेशन नगर्नुपर्ने धारणा सार्वजनिक गरेका छन्। उनीहरूले विशेष महाधिवेशन र हस्ताक्षर संकलनको अभियान पार्टीलाई कमजोर बनाउने भन्दै प्रेस विज्ञप्ति जारी गरेका हुन्।
विज्ञप्तिमा केन्द्रीय सदस्य सुशीला भट्ट र नृपबहादुर वड, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, कार्यवाहक प्रदेश सभापति लोकराज अवस्ती, राष्ट्रियसभा सदस्य नारायणदत्त भट्टसहित २३ नेताले हस्ताक्षर गरेका छन्। हस्ताक्षरकर्तामध्ये १० जना प्रदेशसभा सांसद र सरकारका मन्त्रीसमेत छन्।
नेताहरूले विशेष महाधिवेशन माग गर्ने गतिविधि पार्टीलाई विभाजनतर्फ लैजाने चेतावनी दिंदै नियमित महाधिवेशनमै नेतृत्व चयन गर्नुपर्नेमा जोड दिएका छन्। उनीहरूले सभापति शेरबहादुर देउवाले विधानअनुसार अब सभापति पदमा प्रतिस्पर्धा नगर्ने भनिसकेको कुरा स्मरण गर्दै कार्यकर्तालाई भ्रममा नपर्न आग्रह गरेका छन्।




