देश

एनआरएनए निर्वाचनका लागि २,६४३ प्रतिनिधिको प्रारम्भिक नामावली सार्वजनिक

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनअन्तर्गत हुने निर्वाचनका लागि २,६४३ जना प्रतिनिधिको प्रारम्भिक नामावली सार्वजनिक गरिएको छ। शेष घले नेतृत्वको उच्चस्तरीय समितिको निर्णयपछि निर्वाचन समितिले बिहीबार मतदाता सूची सार्वजनिक गरेको हो। यसअघि वैशाख १५ गते अनलाइन फारम भरेका ६२५ प्रतिनिधिको नामावली मात्र सार्वजनिक गरिएको थियो।

हालसम्म ती ६२५ जनाले आवश्यक सबै कागजात बुझाइसकेका छन् भने बाँकी २,०१८ जनाले शुक्रबार साँझ ७ बजेभित्र आवश्यक प्रमाणपत्र र १०० अमेरिकी डलर दस्तुर बुझाउनु पर्नेछ। समयमै कागजात नबुझाउने प्रतिनिधि निर्वाचन प्रक्रियाबाट बाहिरिनेछन्।

निर्वाचन आयुक्त वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेका अनुसार प्रारम्भिक नामावली निर्वाचन समितिको वेबसाइट र गैरीधारास्थित कार्यालयमा हेर्न सकिनेछ। प्रतिनिधिहरूको विषयमा दावी वा विरोध भएमा समितिको इमेल वा कार्यालयमा निवेदन दिन सकिने व्यवस्था गरिएको छ।

एनआरएनएको एकता महाधिवेशन आगामी वैशाख २० देखि २२ गतेसम्म हुने तय गरिएको छ। सो विषयमा केही विवादहरूका कारण अदालतमा मुद्दा समेत विचाराधीन अवस्थामा छ ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *