
काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यालयमा हालै एक नयाँ लिफ्ट बनेको छ, जसले विशेष अनुमति बिना कसैलाई चढ्न दिँदैन। क्यूआर कोडमार्फत खुल्ने यो ‘स्मार्ट’ लिफ्ट अहिले बहसको केन्द्रमा छ, सो लिफ्ट सर्वसाधारणका लागि होइन, ‘विशेष व्यक्ति’का लागि मात्रै राखिएको महानगरको दाबी छ ।
महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार, लिफ्ट मेयर बालेन साहको लागि मात्रै बनाइएको हो र उनले बाहेक अरूलाई चढ्न अनुमति छैन। “जनताको करबाट बनेको हो, तर जनतालाई नै प्रयोग गर्न नदिने ? ” भन्दै मानन्धरले नै प्रश्न उठाएका छन्।
तर, मेयरको सचिवालयले भने लिफ्ट मेयर, उपमेयर र प्रशासकीय अधिकृतको संयुक्त प्रयोगका लागि बनाइएको बताए । सचिव भूपदेव साहका अनुसार, पुरानो लिफ्ट सेवाग्राहीले खचाखच हुने भएकाले विशिष्ट पाहुनाको व्यवस्थापन गर्न नयाँ लिफ्ट आवश्यक थियो।
लिफ्टमा क्यूआर कोड र पासवर्ड प्रणाली छ। जसको सचिवालयसँग पासवर्ड छ, उसले मात्रै प्रयोग गर्न सक्छ। नगर प्रहरीहरूको निगरानीमा रहने यो लिफ्टमा सामान्य सेवाग्राही वा कर्मचारी चढ्न खोजे ‘यो तपाईंको लागि होइन’ भन्दै फर्काइन्छ।
सचिवालयका अनुसार, लिफ्ट बनाउनुको उद्देश्य उच्चस्तरीय पाहुनाको गोपनीयता र सहजता हो। “फोटो(भिडियो खिचेर सेवाग्राहीले डिस्टर्ब नगून् भन्नेमात्र हो,” स्रोतले भन्यो।
महानगरको प्रशासन प्रमुख ध्रुव काफ्लेले पनि तीन जना उच्च पदाधिकारीले प्रयोग गर्ने भनेर पुष्टि गरेका छन्। “सर्वसाधारणका लागि होइन, भिड कम गर्न लिफ्ट थपिएको हो,” उनले भने। लिफ्ट निर्माण गर्न ३५ लाख रुपैयाँ खर्च भएको र गत असार मसान्तमा सम्पन्न भएको जानकारी छ। आलोचकहरू भने मेयर बालेन जनताबाट लुकेर शासन गर्न खोज्दै छन् कि भनेर प्रश्न उठाउँदैछन्।