
काठमाडौँ।त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सुरु भएको छ ।
बिहान ८ः०० बजेदेखि ४६ आङ्गिक र दुई सय ५० सम्बन्धनप्राप्त क्याम्पसमा मतदान सुरु भएको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्यसचिव पशुपति अधिकारीले जानकारी दिए। अधिकांश क्याम्पसमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । मतदान अपराह्न ४ः०० बजेसम्म चल्नेछ ।
मतदान सकिएलगत्तै क्याम्पसको निर्वाचन समितिले मतगणना सुरु गर्ने अधिकारीले बताए । त्रिविले प्रत्येक दुई–दुई वर्षमा स्ववियु निर्वाचन गर्ने परम्परालाई निरन्तरता दिएको छ। अनेरास्ववियु, नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु (क्रान्तिकारी), अनेरास्ववियु र स्वतन्त्र विद्यार्थी समूहलगायतका विद्यार्थी सङ्गठनहरू निर्वाचनमा सहभागी छन् ।
२०६५ सालदेखि नियमित हुन नसकेको स्ववियु निर्वाचन २०७३ चैत १५ गते एकैपटक भएको थियो । त्यसपछि २०७९ चैत ५ गते केही क्याम्पसबाहेक देशभर सम्पन्न भएको थियो । त्रिविमा २०१८–१९ देखि प्रत्यक्ष प्रणालीबाट निर्वाचन हुँदै आएकामा २०३० सालसम्म प्रत्येक वर्ष र २०३६ सालदेखि प्रत्येक दुई–दुई वर्षमा निर्वाचन हुन थालेको हो ।