काठमाडौं । मानव तस्करीको आरोपमा कोसी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ परेका छन्।
आइतबार बिहान विराटनगरबाट प्रहरीले नियन्त्रणमा लिएर काठमाडौँ ल्याउन लागिएको प्रहरी स्रोतले जनाएको छ । मोरङ प्रहरीका एक अधिकारीका अनुसार जिल्ला प्रहरी परिसर काठमाडौँले मन्त्री अधिकारीलाई नियन्त्रणमा लिएर उपस्थित गराउन पत्राचार गरेपछि उनलाई विमानमार्फत काठमाडौँ लैजान लागिएको हो ।
अधिकारी एमालेको तर्फबाट मोरङ जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा निर्वाचन क्षेत्र (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन्। अधिकारीमाथि जापान भ्रमणका क्रममा मानव तस्करी गरेको आरोप लागेको थियो।
विदेश भ्रमणमा जाँदा मन्त्री अधिकारीले कसैको अनुमति नलिई गएका थिए । अधिकारीसँगै तीन जना सोही मन्त्रालयको नक्कली कार्ड बनाएर जापान उडेको प्रहरीले अनुसन्धानबाट पत्ता लगाएको छ । संघीय र प्रदेश सरकारको अनुमतिबेगरै उनी कात्तिक १३ गते जापान उडेका थिए । टोकियो विमानस्थलमा उनलाई ४८ घण्टा राखेर फिर्ता गरेको थियो । नेपाल फर्केपछि उनले पदबाट राजीनामा दिएका थिए ।
मन्त्रालयको नक्कली कागजात बनाएर जापान गएका तीनसमेत मन्त्री अधिकारीलाई जापानको विमानस्थलबाटै डिपोर्ट गरिएको थियो । नक्कली कागजात बनाएका तीन जनालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरी अनुसन्धान जारी राखेको छ । उनीहरुको बयानका आधारमा अन्य थप तीन जनालाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । विवादपछि मन्त्री अधिकारीले बुधबार मुख्यमन्त्री हिक्मत कार्कीलाई राजीना पत्र बुझाए पनि उनीमाथि राजीनामा बाहेक थप कारबाही गर्नुपर्ने कुरा उठेपछि शनिबार एकालेले पदबाट निलम्बन गरेको थियो ।
जापान जाने क्रममा आफूसँगै तीनजना नेपालीले नक्कली ‘डकुमेन्ट’ बनाएर उतै भाग्ने योजना बनाएको पाएपछि आफू फिर्ता भएको मन्त्री अधिकारीले दाबी गरेका थिए । मन्त्री अधिकारीले कारबाहीबाट जोगिन जुक्ती लगाएको पुष्टि भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
अधिकारीले बुधबार पत्रकार सम्मेलन गर्दै भने, “टोकियो महानगरपालिकामा हुने कार्यक्रमका म एक्लै गएको हो । तर, हङ्कङमा तीन जना नेपाली भेटिए । उतै लुक्ने योजनामा रहेछन् । उनीहरू उतै बस्ने खुलेपछि देशप्रति गद्दारी गर्नु हुँदैन भनेर फिर्ता हुन खोज्दा ट्रान्जिटबाट फिर्ता हुन मिलेन ।”
उनले त्यसपछि जापान विमानस्थलबाट आफू फिर्ता भएको बताए । जनक राई, दावा शेर्पा, अनिता तिमल्सिना र कञ्चन देवकोटालाई मन्त्रीले सँगै लिएर गएका थिए । ती व्यक्तिले आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कर्मचारीको नक्कली परिचय पत्र बोकेको स्रोतको भनाइ छ ।
टोकियो महानगरपालिकाले कार्यक्रममा मन्त्रीलाई निमन्त्रणा गरेकोबारे कुनै जानकारी नआएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय स्रोतले बताएको छ । मन्त्री अधिकारी जापानको विमानस्थलमा रोकिएपछि त्यहीँबाट गलत ठाउँमा आइपुगेको भन्दै केही सांसद तथा मुख्यमन्त्रीलाई म्यासेज लेखेको स्रोतले बताएको छ ।
अक्टोबर २९ देखि नोभेम्बर ३ तारिकसम्मको कार्यक्रममा निमन्त्रणा आएको मन्त्री अधिकारीको दाबी छ । मुख्यन्त्रीको निर्देशनपछि राजीनामा गरेका मन्त्री अधिकारीले आफैंले गल्ती गरेको फिल गरेर नैतिकताको हिसाबले राजीनामा दिएको बताए ।
पहिलो कार्यकालमा पनि सुन तस्करी र सनम शाक्यको हत्या प्रकरणमा संलग्न प्रहरी अधिकृतको पक्षमा अदालतमा बहस गरेपछि सभामुखले तीन महिनासम्म सभाका बैठकमा धारणा राख्न रोक उनलाई प्रतिबन्ध लगाएका थिए । अधिकारीलाई पक्राउ गरेर उपस्थित गराइदिन जिल्ला प्रहरी परिसर काठमाडौँले विराटनगरमा पत्र पठाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङमा पत्राचार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताए ।




