देश

विश्वसामु चुनौती बनिरहेको अन्तरदेशीय अपराधको मिलेर सामना गरौँ : प्रधानमन्त्री

काठमाडौँ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अन्तर्राष्ट्रियरुपमा हुने संगठित अपराध, साइबर अपराध र आतंकवादको सामना गर्न मिलेर लाग्नुपर्ने बताएका छन्।

नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी सहकारिता दिवस तथा इन्टरपोलको १००औँ वार्षिकोत्सवका अवसरमा आज काठमाडौँमा आयोजना गरेकाे समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले ती सुरक्षा खतराको पहिचान गरी त्यसविरुद्ध अन्तर्राष्ट्रिय समुदायबाट सामूहिक प्रयासको खाँचो रहेको बताए।

नेपाल सीमापार सुरक्षा र सहयोग प्रवद्र्धनमा सक्रिय भूमिका खेल्न तयार रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले अन्तर्राष्ट्रिय समकक्षीहरूसँग सहकार्य गरेर विश्वव्यापी अपराधबाट उत्पन्न हुने बहुआयामिक चुनौतीको सामना गर्न सक्छौँ भन्ने दृढ विश्वास रहेको बताए।

विश्व सुरक्षित र न्यायपूर्ण छ भनेर सुनिश्चित गराउन सामूहिक विभिन्न संघसंस्था र संयन्त्रहरूलाई बलियो बनाउने मात्र होइन, असमानता, गरिबी र अवसरको अभावलगायत अपराधका मूल कारणहरूलाई पनि सम्बोधन गर्नुपर्ने उनको भनाइ थियो ।

संयुक्त राष्ट्रसंघसँग नेपाली सुरक्षा निकायको सहकार्यले नेपालमा मात्र नभई विश्वभरका द्वन्द्वग्रस्त क्षेत्रमा पनि शान्ति, स्थिरता र विधिको शासन प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेलेको उनले बताए। उनले शान्ति मिसनमा गएका नेपाली सुरक्षाकर्मीको योगदानको प्रशंसा गरे।

अहिलेको डिजिटल युगमा प्रविधिको दुरुपयोग गरी आपराधिक क्रियाकलापहरु सञ्चालन भइरहेको सन्दर्भमा अन्तर्राष्ट्रिय प्रहरीको सहयोग महत्वपूर्ण रहेका उनले बताए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *