काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले देशको अवस्था देखेर दुख लाग्ने बताएका छन्।
नयाँ बानेश्वरमा वुद्धिजिवीहरूसँगको अनौपचारिक छलफलमा नेता कोइरालाले देश जता हेर्यो उतै भताभुंग र लथालिंग भएकाले दिक्क लाग्ने बताएका हुन् । ‘नत हामी ठिक भयौं, न काम गर्ने शैली, जता हेर्यो भताभुङ्ग र लथालिङ्ग छ। चित्त बुझाउँने कतै केही छैन,’ उनले भने।
मुलुक असाध्यै अप्ठ्यारोमा रहेको र विभिन्न प्रकरणहरू सतहमा आएपनि टुंगोमा नपुगी तुहिने हुँदा जनतालाई जवाफ दिनसमेत नसकिएको उनले बताए।
कोइरालाले नेपाल अन्तर्राष्ट्रिय तस्करीको अखडा बनिसकेको समेत बताए । यसले अन्तर्राष्ट्रिय समुदाय सामु नेपालको साख गिरेको उनको भनाइ छ। छलफलमा सहभागीहरूले महङ्गी, भ्रष्टाचार र दण्डहीनताले सिमा नाघेको, भुराजनीति चौपटमा परेको र सरकारले एकपछि अर्को अलोकप्रिय निर्णयहरु गर्ने गरेकाले कांग्रेस यो सरकारमा बसिरहन नहुने सुझाव दिए।




