काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले संवैधानिक पदाधिकारीमा नियुक्तिका लागि सिफारिस गरिएकाहरूले आज पद तथा गोपनीयताको सपथ लिँदैछन् । सरकारले गत मंसिर ३० गते अध्यादेश ल्याएर संवैधानिक आयोगहरूमा रिक्त रहेका पदमा सिफारिस गरेको थियो । संवैधानिक परिषद्ले गरेको सिफारिसमा संसदीय सुनुवाइ गर्नुपर्ने संवैधानिक प्रावधान छ ।
संसद् विघटित रहेको अवस्थामा संसदीय सुनुवाइ नभएको र मंगलबार सिफारिसको ४५ दिन पूरा भएकाले संवैधानिक प्रावधानमै टेकेर राष्ट्रपति कार्यालयले शपथको तयारी गरेको बताइएको छ ।
यसैबीच, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यवाहक प्रमुख आयुक्त गणेशराज जोशी र आयुक्त सावित्री थापा गुरुङले पदबाट राजीनामा दिने तयारी गरेका छन् । आफूहरू आयुक्त हुँदा सचिवको हैसियतले काम गरेका व्यक्ति नै प्रमुख आयुक्तमा नियुक्त भएर आउने भएपछि उनीहरूले बुधबार राजीनामा दिने तयारी गरेका हुन् ।
अख्तियारको प्रमुख आयुक्तमा सिफारिस भएका प्रेमकुमार राई २०७१ साउन ९ देखि फागुन २७ गतेसम्म अख्तियारका सचिव भएका थिए । त्यतिबेला जोशी र गुरुङ दुवैजना अख्तियारमा आयुक्त थिए ।
२०७१ चैत १९ गते अख्तियारको आयुक्तमा नियुक्त भएका दुवै जना ६ वर्षे पदावधिका कारण आगामी चैत १९ गते अवकाश पाउँदै थिए । संविधानमा संवैधानिक निकायका पदाधिकारीले राजीनामा बुझाउनासाथ त्यो स्वीकृत हुने र पद रिक्त हुने व्यवस्था छ । उनीहरूले राजीनामा दिएमा अख्तियारमा अब दुई पद रिक्त हुनेछ ।
जो आज शपथ खाँदैछन्
अख्तियार दुरुपयोग अनुसन्धान आयोग : प्रेमकुमार राई, जयबहादुर चन्द, किशोरकुमार सिलवाल,
निर्वाचन आयोग : रामप्रसाद भण्डारी, डा. जानकी तुलाधर, मानवअधिकार आयोग : टपबहादुर मगर, मनोज दुवाडी, डा. सूर्य ढुंगेल, लिली बस्नेत थापा, मिहि ठाकुर, राष्ट्रिय प्रकृति स्रोत तथा वित्त आयोग : जुद्ध गुरुङ, अमरराज मिश्र, महिला आयोग : कमलाकुमारी पराजुली, कृष्णकुमारी पौडेल खतिवडा, विद्याकुमारी सिन्हा, दलित आयोग : देवराज विक, मिना सोभ, परशुराम रमतेल
कुञ्ज बराइली, मेहेले पार्की, राष्ट्रिय समावेशी आयोग : मनप्रसाद खत्री, रामचन्द्र जोशी, हरिभक्त जोशी, जीतेन्द्र पाश्वान, आदिवासी आयोग : रामबहादुर थापा, मीन श्रीस मगर, मिनसिंह लामा
रिना राना स्याङ्जा, चरण राई, मधेसी आयोग : जीवच्छ साह, रेणुदेवी शाह, विजय गुप्ता,
थारु आयोग : विकास चौधरी, बबिता चौधरी, सुबोधसिंह थारु, भोलाराम चौधरी, मुस्लिम आयोग : महमुद्दिम अलि, मिर्जाअर्सद बेग




