अर्थ

ताकमका विद्यार्थी पढाइसँगै तरकारीखेती गर्दै

म्याग्दी।म्याग्दीको धौलागिरी गाउँपालिका-७ स्थित ताकम माध्यमिक विद्यालयले तरकारीखेती सुरु गरेको छ।

विद्यालयको दिवाखाजा, छात्रावासका लागि आवश्यक पर्ने ताजा तरकारी आफ्नै करेसाबारीमा फलाउने तथा विद्यार्थीलाई प्राविधिक र व्यावसायिक ज्ञानसीप सिकाउने उद्देश्यले तरकारीखेती सुरु गरेको हो।

विद्यालयका प्राध्यानाध्यापक केशर रावलले प्लास्टिक घर बनाएर मौसमी र बेमौसमी तरकारीखेती सुरु गरेको जानकारी दिए। ‘विद्यार्थी र शिक्षकले फुर्सदको समयमा प्रयोगात्मक अभ्यासका लागि पहिलो चरणमा एउटा टनेलमा बन्दा, काउली र गाजर लगाएका छौँ’, उनले भने, ‘थप जमिनमा हिउँदे आलु र साग प्रजातिका तरकारी लगाउने तयारीमा छौँ।’

विद्यालयको तीन रोपनी जग्गामा तरकारीखेतीलाई निरन्तरता दिने विद्यालयको योजना छ। कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने विद्यार्थीलाई तरकारीखेतीमा सहभागी गराइएको छ।

तरकारीखेतीका लागि गाउँपालिकाले ‘धवलागिरीको इच्छा, गरिखाने शिक्षा’ कार्यक्रममार्फत आर्थिक वर्ष २०८२/०८३ मा १ लाख ५० हजार रूपैयाँ सहयोग गरेको छ। दातृ संस्था ‘गुड नेवर्स इन्टरनेशनल’को सहयोगमा संगम म्याग्दीमार्फत सञ्चालिक एकीकृत सामुदायिक विकास परियोजनाले प्रांगारिक प्रविधिबाट खेती गर्ने तरिकाका विषयमा प्राविधिक सहयोग गरेको छ।

उक्त परियोजनाले करेसाबारी कार्यक्रममार्फत थप सहयोग गर्ने जनाएको प्रधानाध्यापक रावलले बताए। कक्षा ८ देखि १२ सम्म इलेक्ट्रिक इन्जिनियरिङ विषयको पठनपाठन हुने ताकम माविमा २२१ जना विद्यार्थी अध्ययनरत छन्।

विद्यार्थीहरुले पढ्दै कमाउने सीप सिक्ने, बाँझो जग्गा र फुर्सदको समय सदुपयोग हुने, छात्रावासमा आवश्यक तरकारी किन्नु नपर्ने र खर्च बचत हुने भएकाले उक्त कार्यक्रम प्रभावकारी हुने अपेक्षा गरिएको छ। करेसाबारीमा बिताउँदा विद्यार्थीले जीवनउपयोगी र व्यावसायिक सीप सिक्ने मात्र नभइ ‘रिफ्रेस’ समेत महसुस गरेको पाइएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *