काठमाडौं। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति आज सार्वजनिक गर्ने भएको छ।
राष्ट्र बैंकका अनुसार केहीबेरमै सार्वजनिक हुने मौद्रिक नीतिमा यसपटक बैंक तथा वित्तीय संस्थासम्बन्धी नियामकीय व्यवस्था समावेश गरिने छैन। नीति मुख्य रूपमा मौद्रिक उपकरण, समष्टिगत आर्थिक व्यवस्थापन तथा वित्तीय स्थायित्वसँग सम्बन्धित विषयमा केन्द्रित रहने जनाइएको छ।
राष्ट्र बैंकले कर्जा प्रवाहलाई प्रोत्साहन गर्ने, निजी क्षेत्रको लगानी विस्तारलाई सहज बनाउने तथा अर्थतन्त्रमा आर्थिक गतिविधि बढाउने उद्देश्यसहित अपेक्षाकृत लचिलो मौद्रिक नीति ल्याउने तयारी गरेको छ।
सरकारले आर्थिक वृद्धि, उत्पादन र रोजगारीलाई प्राथमिकता दिएको सन्दर्भमा सार्वजनिक हुन लागेको मौद्रिक नीतिलाई निजी क्षेत्र, बैंकिङ क्षेत्र तथा लगानीकर्ताले चासोका साथ हेरिरहेका छन्।




