म्याग्दी। म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सिभिल ठेक्काको म्याद तेस्रोपटक थप गरिएको छ। नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले प्रवर्द्धन गरेको यस आयोजनाको म्याद अब २०२५ नोभेम्बर २७ सम्म थपिएको हो।
भारतीय सिभिल ठेकेदार जयप्रकाश एसोसियट्स (जेपी)सँग २०१७ नोभेम्बर १७ मा ४५ महिनाभित्र आयोजना सम्पन्न गर्ने लक्ष्यसहित ६ अर्ब रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। यसअघि दुईपटक म्याद थपिएकोमा अन्तिम म्याद २०२४ जुन २७ मा सकिएको थियो। हालसम्म आयोजनाको करिब ९० प्रतिशत भौतिक प्रगति भएको छ।
रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीका अनुसार परामर्शदाता वाकफोसको सिफारिसमा ठेकेदारलाई ४ महिनाको म्याद थप गरिएको हो। महामारी, बाढीपहिरो र निर्माण सामग्रीको अभावले निर्माण ढिलो भएको ठेकेदारले जनाएको छ।
इलेक्ट्रोमेकानिकल ठेक्का २०७६ कात्तिकमा भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)सँग एक करोड दुई लाख ९३ हजार अमेरिकी डलरमा भएको थियो। तर उपकरण आयात र जडानको काम पनि ढिलो भइरहेको छ। भेलसँगको म्याद २०२५ डिसेम्बर ३१ सम्म कायम छ।
आयोजनाका प्रमुख राजु विष्टले सिभिल र इलेक्ट्रोमेकानिकल ठेकेदारबीच समन्वय गर्दै आगामी डिसेम्बरसम्म आयोजना सक्ने प्रयास भइरहेको जानकारी दिए। सुरुङ, बाँध र विद्युत्गृहको ९० प्रतिशत काम सम्पन्न भइसकेको छ।
एक्जिम बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियत ऋण, नेपाल सरकार र विद्युत् प्राधिकरणको संयुक्त लगानीमा आयोजना इपिसी मोडेलमा निर्माण भइरहेको हो। आयोजनाबाट उत्पादित विद्युत् कालीगण्डकी करिडोरअन्तर्गतको २२० केभी डबल सर्किट प्रसारण लाइनमार्फत केन्द्रीय ग्रिडमा जोडिनेछ।




