अर्थ

अघिल्लो वर्षको तुलनामा यस वर्ष एक खर्ब बढी बजेट विनियोजन

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट विनियोजन गरेका छ । बिहीबार अर्थमन्त्री विष्णु पौडेलले संघिय संसदमा बजेट भाषण गर्दै आर्थिक वर्षको बजेट कुल १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट विनियोजन गरेका हुन् । अघिल्लो सरकारद्वारा ल्याइएको बजेटभन्दा उक्त बजेट एक खर्ब चार अर्ब बढी हो। अघिल्लो वर्ष अर्थमन्त्री वर्षमान पुनले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट ल्याएका थिए। यो वर्षको बजेट बढ्दो आर्थिक आवश्यकता, पूर्वाधार विस्तार र सामाजिक सुरक्षा दायरा बढाउने सरकारको योजनालाई दर्शाउने गरी प्रस्तुत गरिएको छ।

संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट प्रस्तुत गर्दै चालु खर्च, पुँजीगत खर्च र वित्तीय व्यवस्थापनका लागि रकम विनियोजन गरिएको जानकारी दिए।

अर्थमन्त्री पौडेलका अनुसार आर्थिक वर्षको चालु खर्च ११ खर्ब ८० अर्ब ९८ करोड,पुँजीगत खर्च ४ खर्ब ७ अर्ब ८९ करोड,वित्तीय व्यवस्थापन ३ खर्ब ७५ अर्ब २४ करोड रहेको छ । विनियोजन चालु आर्थिक वर्षको बजेटको तुलनामा ५.६५ प्रतिशत र संशोधित बजेटको तुलनामा १८.२५ प्रतिशत बढी हो।

प्रदेश र स्थानीय तहका लागि ४ खर्ब १७ अर्ब ८३ करोड रुपैयाँ बराबरको वित्तीय हस्तान्तरण व्यवस्था गरिएको छ।

राजस्व पक्षमा सरकार १३ खर्ब १५ अर्ब रुपैयाँ आन्तरिक स्रोत र ५३ अर्ब ४५ करोड रुपैयाँ वैदेशिक अनुदानबाट उठाउने लक्ष्यमा छ। बाँकी ५ खर्ब ९५ अर्ब ६६ करोड घाटा पूर्ति गर्न आन्तरिक र बाह्य ऋण लिने तयारी गरिएको छ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *