अर्थ

बैंकहरुमा अधिक तरलताको चाप, पुन : ३५ अर्ब खिच्दै केन्द्रीय बैंक

काठमाडौं । लामो समयदेखि बैंकिङ प्रणालीमा अधिक तरलताको अवस्था छ । अपेक्षा अनुसार कर्जा प्रवाह हुन सकेको छैन । ब्याजदर निरन्तर घटे पनि कर्जा प्रवाह सुस्त छ ।

नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीको अधिक तरलता व्यवस्थापन गर्न आज फेरि २१ दिनका लागि ३५ अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गरेकोे छ । बैंकहरुले निक्षेप संकलन उपकरणमा गत वैशाख ३ गते राखेको ३० अर्ब परिपक्क भएपछि केन्द्रीय बैंकले थप ३५ अर्ब रुपैयाँ वित्तीय प्रणालीबाट प्रशोचन गर्न लागेको हो । बैंकहरुले निक्षेप संकलन उपकरणमार्फत यस अघि जम्मा गरेको १ खर्ब ३४ अर्ब २० करोड रकम परिपक्क हुनै बाँकी छ ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । साँवा र ब्याज भुक्तानी मिति जेठ १४ गते निर्धारण भएको छ । यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।

त्यसो त यसअघि केन्द्रीय बैंकले गत आइतबार पनि ५० अर्ब रुपैयाँ बराबरको २१ दिन अवधिको निक्षेप संकलन उपकरण जारी गरेको थियो । उक्त निक्षेप संकलन उपकरणमा १३ बैंक तथा वित्तीय संस्थाले २७ अर्ब ५० करोड जम्मा गरेका थिए भने औसत ब्याजदर ३ प्रतिशत कायम भएको थियो । त्यसअघि वैशाख १७ गते पनि २१ दिनका लागि ५० अर्बको निक्षेप संकलन उपकरण जारी भएको थियो । वैशाख महिनामा मात्रै केन्द्रीय बैंकले ५ पटक यस्तो उपकरण जारी गरिसकेको छ ।

राष्ट्र बैंकका अनुसार अहिले बैंक तथा वित्तीय संस्थाहरुमा कुल ६८ खर्ब ५२ अर्ब रुपैयाँ निक्षेप रहेको छ । यसअवधिमा बैंकहरुले ५५ खर्ब १० अर्ब कर्जा लगानी गरेका छन । बैंकहरुले निक्षेपको ९० प्रतिशतसम्म कर्जा लगानी गर्न पाउने व्यवस्था रहेको छ । हाल बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७९.२० प्रतिशत छ । यसलाई हेर्दा बैंकहरुसँग लगभग ६ खर्ब ५७ अर्ब रुपैयाँ लगानीयोग्य रकम देखिन्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *