घोराही (दाङ)। कृषि प्राविधिकको अध्ययन, स्ट्रबेरी खेतीमा व्यवसायिक सफलता। कैलालीका किसान दशरथ साउदको घोराहीमा रहेको स्ट्रबेरी खेतीले उनलाई राम्रो आम्दानी दिएको छ। घोराही उपमहानगरपालिका–१५ भरतपुरमा रहेको उनको स्ट्रबेरी खेतीमा कपिलवस्तुका भाष्कर पङ्गेनीले पनि साथ दिएका छन्।
स्ट्रबेरी खेतीको प्राविधिक पक्ष साउद आफैंले हेर्छन्। तीन वर्षअघि स्ट्रबेरी खेतीमा होमिएका २६ वर्षीय साउदले गत वर्ष मात्रै १८ लाख रुपैयाँ बराबरको स्ट्रबेरी बिक्री गरे। “गत वर्ष ११ लाख रुपैयाँ त बचत नै भयो,” उनले भने, “अहिले दैनिक ७० किलोभन्दा बढी बिक्री भइरहेको छ।” यस वर्ष हालसम्म ४ लाख रुपैयाँभन्दा बढीको स्ट्रबेरी बिक्री भइसकेको छ।
साउदले १५ कठ्ठा जग्गा भाडामा लिएर स्ट्रबेरी खेती गरेका छन्। उनले स्ट्रबेरी प्रतिकिलो खुद्रामा ७०० रुपैयाँ र थोकमा ५०० रुपैयाँमा बिक्री गरिरहेका छन्। स्ट्रबेरी दाङसहित बुटवल, नेपालगञ्ज र धनगढी लगायत ठाउँमा पठाउने गरेको उनले बताए।
“कृषि प्रविधिसँग सम्बन्धित विषय अध्ययन गरेपछि यसैमा केही गरौं भन्ने सोचले कृषि फार्म स्थापना गरी स्ट्रबेरी खेती सुरु गरेको हुँ, अहिले यसैबाट राम्रो आम्दानी भइरहेको छ,” साउदले भने। परम्परागत कृषिमा प्रविधिको प्रयोगले सफलता मिलेको उनले बताए। घोराहीमा मात्रै होइन, साउदले कपिलवस्तुमा १२ कठ्ठा र कैलालीमा १० कठ्ठामा पनि व्यावसायिक रूपमा स्ट्रबेरी खेती गरिरहेका छन्।
स्ट्रबेरी फल स्वादिलो हुनुका साथै पौष्टिक गुणले पनि राम्रो मानिन्छ र बिक्रीका लागि समस्या नहुने साउदको बुझाइ छ। “सुरुमा बिरुवा ल्याउँदा, सिँचाइलगायतमा सात लाख रुपैयाँभन्दा बढी खर्च भएको छ। भदौको अन्तिमतिर रोपेका बिरुवाले अहिले उत्पादन दिएको छ, बजारका लागि पनि कुनै समस्या छैन,” उनले भने। कुल उत्पादनको ४० प्रतिशत दाङमा मात्रै बिक्री भइरहेको उनले बताए।
“स्ट्रबेरी चिसो ठाउँमा हुनेमध्येमा पर्छ। आजभोलिको समय राम्रो हुन्छ,” उनले भने। जिल्लामा पछिल्लो समय व्यावसायिक रूपमा यसको खेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको उनले बताए।




