काठमाडौं । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेसँगै कर्णाली विकास बैंकको सेयर कारोबार रोक्का गरिदिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बिहीबार बिहान १०ः२९ बजे सूचना जारी गरी कारोबार रोक्का गरेको हो।
राष्ट्र बैंकले बुधबार मात्र कर्णली विकास बैंकलाई समस्याग्रस्त घोषणा गर्दै व्यवस्थापन नियन्त्रणमा लिने निर्णय गरेको थियो। अर्को व्यवस्था नभएसम्मका लागि यो बैंकको व्यवस्थापन राष्ट्र बैंकले नियन्त्रणमा रहनेछ। राष्ट्र बैंकले कर्णाली विकास बैंक सञ्चालनका निम्ति बैंक तथा वित्तीय संस्था नियमन विभागका उप–निर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा तीन सदस्यीय व्यवस्थापन समूह गठन गरेको छ।
समूहमा वित्तीय संस्था सुपरिवेक्षण विभागका उप–निर्देशक विष्णुकुमार विश्वकर्मा र कानुन महाशाखाका उपनिर्देशक जुगलकिशोर कुशवाहालाई सदस्य तोकिएको छ। समूहले ०८१ पुस ११ देखि नै उक्त संस्थाको तोकिएको जिम्मेवारी सम्हाल्ने बताइएको छ।
यो बैंकले तोकेको न्यूनतम पुँजीकोष अनुपात कायम नगरेको, संस्थागत सुशासनको अवस्था कमजोर भएको, आर्थिक हिनामिनाको आशका भएको, कमजोर तरलता स्थितिसँगै संस्थाले भुक्तानी गर्नुपर्ने निक्षेप दायित्व पूरा गर्न नसक्ने देखिएकाले नियन्त्रणमा लिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।




